तुलसीपुर उपमहानगरपालिका वडा नं १९ कुटेचौरमा माओवादी केन्द्र तुलसीपुरले श्रद्धाञ्जली सभा गरेको छ । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य मिना बुढा चौधरीकी ममतामयी आमा पम्फी मल्लको माघ २८ गते ६४ वर्षको उमेरमा निधन भएको थियो । स्वर्गीय मल्लको १३ औं दिनको पुण्य तिथिको अवसरमा माओवादी केन्द्र तुलसीपुर नगर अध्यक्ष खुसिराम चौधरीको सभापति तथा जिल्ला इन्चार्ज निर्मल आचार्यको प्रमुख आतिथ्यमा सभा गरिएको हो ।
प्रमुख अतिथि आचार्यले घर परिवारमा एउटा महिलाले गरेको योगदान साँच्चिकै समाज परिवर्तन लागि अमुल्य रहेको भन्दै क्रान्तिमा यस्तै यस्तै आमाहरुको योगदान छ, समाज परिवर्तनमा आमाहरूको ठूलो योगदान रहेको उनले बताए । उनले अब संविधान लागू गर्नु पर्ने बेला आएको छ । अब हामी त्यसतर्फ जानू पर्नेछ, अबको लडाइ संविधान लागू गर्ने कि नगर्ने भन्ने विषयमा छ । हामीले गरेको त्याग, बलिदानले यो गणतन्त्र ल्याउन सफल भएको बताए । श्रद्धाञ्जली सभामा कुटेचौर निवासी मल्लको छोरी मिना बुढा चौधरीले स्वर्गीय आमाको जीवनीबारे प्रकाश पारेकी थिइन् ।
त्यस्तै सभामा नेकपा एमाले सल्यानका जिल्ला सदस्य उमबहादुर बुढा, माओवादी केन्द्र तुलसीपुर नगर इञ्चार्ज प्रेमराज वली ‘प्रभात’ लगायतकाले बोलेका थिए ।
नेकपा माओवादी केन्द्र तुलसीपुरका नगर सचीव तुलाराम भण्डारी ‘बारुद’ले श्रद्धाञ्जली सभा कार्यक्रम सञ्चालन गरेका थिए भने स्वर्गीय मल्लको देवर कृष्ण मल्लले धन्यवाद ज्ञापन गरेका थिए ।