दाङ, २९ बैशाख । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका १० तिमिलेमा गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । सोमबार दिउँसो लु प्र ०२-००१ च ०१७७ नम्बरको स्कार्पियो गाडी दुघर्टना भएको प्रहरीले बताएको छ ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १० जन्मघर भई हाल दाङको तुल्सीपुरमा बस्दै आउनुभएका ५० वर्षीय नरबहादुर ओलीको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा परेर उनको श्रीमती, माइली आमा र गाडी चालक घाइते हुनुभएको छ । गाडीमा चालकसहित चार जना मात्र रहेको बताइएको छ । घाइतेहरूलाई अहिले स्थानीय मेडिकलमा उपचारको लागि लगिएको छ ।
कुल पूजाको लागि दाङबाट रुकुम पश्चिम आउनुभएका उनिहरू दाङ फर्कने क्रममा तिमीलेमा दुर्घटनामा परेका हुन । स्थानीयका अनुसार तीव्र गतिमा रहेको गाडी सडकबाट करिब एक किलोमिटर तल खसेको छ । घटनास्थलमा प्रहरी पुगेको र थप अनुसन्धान सुरु गरिएको बताइएको छ ।