२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

अध्यक्ष प्रचण्डद्वारा पार्टी प्रवेश गर्नेहरुलाई स्वागत

काठमाडौ, २१ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आम जनता पार्टीका केन्द्रीय सचिव एवं प्रवास प्रमुख बाबुराम कौशिकसहित विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता कार्यकर्ताहरुलाई स्वागत गरेका छन । 

अध्यक्ष प्रचण्डले आज विहान आफ्नो निवास खुमलटारमा आयोजित कार्यक्रममा उनिहरुलाई पार्टीमा स्वागत गरेका हुन । 

पार्टी प्रवेश गर्नेहरुमा आजपाका स्थायी समिति सदस्य एवं पर्सा इञ्चार्ज कदम रसुल, ब्यापार महासंघका पूर्वकेन्द्रीय सदस्य बीरबहादुर बिदुर, एकीकृत समाजवादीका जिल्ला सदस्य सत्रुघन गिरी, आजपाका प्रदेश सदस्यहरु अवताव अहमद, सजिव गुप्ता, दिलिप गुप्ता, विकास पटेल, जिल्ला सदस्य आकाश पटेल, जिल्ला सदस्य नारायण देवान, नगर सदस्यहरु सुनिल मोदी, नुर मियाँ, सोनालाल मण्डल, चुनु महतो लगायत रहेका छन । 

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशव्यापीरुपमा माओवादी केन्द्रमा प्रवेशको लहर चलेको उल्लेख गर्दै सबैलाई एकताबद्ध र ध्रुवीकृत हुन आह्वान गरेका छन । उनले पार्टी प्रवेश गर्नेहरुलाई उचित जिम्मेवारी दिएर समाजवाद निर्माणको अभियानमा अघि बढाउने बताएका हुन । विचार मिल्ने विभिन्न धारासँग एकताका लागि पनि पहल भइरहेको जानकारी दिंदै उनले यस्ता प्रवेशले एकता र ध्रुवीकरणका लागि दबाब नै पुग्ने बताएका हुन ।

नवप्रवेशी बाबुराम कौशिकले आफूहरुले पार्टीलाई माओवादी केन्द्रसँग एकताका लागि दबाब दिए पनि ढिलाई भएकाले आफूहरु प्रवेश गरेको जानकारी दिए । उनले माओवादी आन्दोलनबाट विभक्त भएका कुनै पनि समूहले सफलता प्राप्त गर्न नसकेको र ढिलोचाँडो सबै माओवादी केन्द्रमा समाहित हुने बताएका हुन ।

प्रकाशित मिति : २०८१ माघ २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस