२०८२ साउन २ गते बुधवार | 2025 July 16th Wednesday

गणतन्त्र दिवसमा मानव सेवा घरलाई सहयोग

नेपाली कांग्रेस क्षेत्र नम्बर २ दाङले मानव सेवा घरमा सहयोग गरेर १६ औँ गणतन्त्र दिवस मनाएको छ । गणतन्त्र दिवसको अवसरमा घोराही उपमहानगरपालिका १० नारायणपुरमा मानव कल्याण समाजले सञ्चालन गरेको मानव सेवा घरमा अत्यावश्यक सामाग्री सहयोग गरेर मनाएको हो । नेपाली कांग्रेस क्षेत्र नम्बर २ का उपसभापति प्रकाश श्रेष्ठको अध्यक्षता एवं नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको प्रमुख आतिथ्यमा एक कार्यक्रमको आयोजना गरि सामाग्री सहयोग गरिएको थियो ।

सेवा घरसँगको समन्वयमा तरकारी, दाल, चना, केराउ, मसला, जिरा, मेथी, तेल, भुजा, नमकिन, सरफ, नुहाउने लुगा धुने र भाडा मिस्ने साबुन, बेसार, हार्फिक लगायतका सामाग्रीहरू सहयोग गरिएको थियो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले मानव सेवामा समर्पित मानव कल्याण सेवा समाजलाई सबैले सहयोग गर्न आग्रह गरे । नेपाली कांग्रेसले सामाजिक कार्यहरू विगतदेखि सञ्चालन गर्दै आएको र सोही सामाजिक सेवा अन्तरगत क्षेत्र नम्बर २ ले मानव सेवा घरलाई गणतन्त्र दिवसको अवसर पारेर सहयोग गरेको बताए । उनले मानव सेवा नै जीवनको सर्वोत्कृष्ट कार्य भएको बताउँदै यसलाई निरन्तरता दिन सम्पूर्ण तहगत संरचनाहरूलाई अनुरोध गरे ।

नेपाली कांग्रेसका महासमिति सदस्य एवं क्षेत्र नम्बर २ का सल्लाहकार भूप बहादुर डाँगीले नेपाली कांग्रेस सधैँ तल्लो वर्गका समुदायसँग रहेर काम गर्ने गरेको इतिहास सम्झदै यस्ता सामाजिक कार्यले आत्मसन्तुष्टी मिल्ने बताए नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं घोराही उपमहानगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष दीपक पाण्डेले वडा कार्यालयको सक्रियता र पहलमा सिद्ध रत्ननाथ माविसँगैको सहकार्यमा विद्यालयको जग्गा दिएर मानव सेवा घर सञ्चालनमा ल्याएको भन्दै यसलाई थप उचाइमा पुर्‍याएर मानवहरूको सेवामा समर्पित हातहरूलाई हौसला प्रदान गर्न आवश्यक रहेको बताए ।

प्रकाशित मिति : २०८० जेष्ठ १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस