दाङ, २५ असोज । नेपाल शिक्षक संगठन तुलसीपुर उपमहानगरपालिकाको चौथो सम्मेलनबाट लिलाधर नेपालीको नेतृत्वमा ११ सदस्यीय नगर समिति सर्वसम्मत रूपमा गठन भएको छ । सम्मेलनले संगठनको अध्यक्षमा लिलाधर नेपालीलाई चयन गरेको हो । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा दिनेश डाँगी, महिला उपाध्यक्षमा यशोदा गौतम, सचिवमा लोकेन्द्र खड्का र कोषाध्यक्षमा किरण कुमारी ओली चयन भएका छन् ।
समितिका सदस्यहरूमा सन्तोष परियार, मिनबहादुर चौधरी, रामबहादुर शाह, जिएम चौधरी, उर्मिला नेपाली र गोपाल खड्का चयन भएका छन । सम्मेलनले संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउँदै शिक्षकहरूको पेशागत हकहित, अधिकार संरक्षण तथा शैक्षिक सुधारका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने उद्देश्यसहित नयाँ नेतृत्व चयन गरेको हो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल शिक्षक संगठन लुम्बिनी प्रदेश कमिटीका सदस्य शोभाराम धिताल सहभागी थिए । विशिष्ट अतिथिहरूमा नेपाल शिक्षक संगठन दाङका जिल्ला संयोजक झक्कु प्रसाद केसी र जिल्ला सह- संयोजक दीपा कुमारी ओली रहेका थिए । त्यसैगरी जिल्ला सदस्य रामकुमारी ओलीको पनि आतिथ्यता रहेको थियो । कार्यक्रममा अतिथिहरूले शिक्षकहरूको पेशागत हकहित संरक्षण, संगठनात्मक एकता, शिक्षकका साझा समस्या समाधान तथा सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धिका लागि संगठनले प्रभावकारी भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिएका थिए । संगठनका उपाध्यक्ष टंक केसीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा नवनिर्वाचित नेतृत्वप्रति शुभकामना व्यक्त गर्दै संगठनलाई एकताबद्ध, मर्यादित र विधि तथा पद्धति अनुसार सञ्चालन गर्नुपर्ने धारणा राखिएको थियो । कार्यक्रमको अध्यक्षता रुद्र डाँगीले गरेका थिए भने सञ्चालन लोकेन्द्र खड्काले गरेका थिए । नवनिर्वाचित अध्यक्ष लिलाधर नेपालीको नेतृत्वमा गठित समितिले तुलसीपुर उपमहानगरपालिकाभित्रका शिक्षकहरूको हकहित संरक्षण, पेशागत मर्यादाको प्रवर्द्धन, संगठनात्मक अनुशासन र एकता कायम गर्दै शिक्षकका जायज माग तथा मुद्दालाई प्रभावकारी रूपमा उठाउने अपेक्षा गरिएको छ ।


