
दाङ, १६ कार्तिक । तुलसीपुर उपमहानगरपालिका प्लाष्टिकजन्य फूलहरू बिक्री वितरणमा कडाइका साथ रोक लगाएको छ , भने उपमहानगरमा व्यवसायिक रुपमा गरिएका सयपत्री फूल र मालाको मूल्य पनि निर्धारण गरेको छ । बिहीवार उपमहानगरपालिका भित्रका पुष्प व्यवसायी र सरोकारवालासँग गरिएको छलफलपछि फूल तथा मालाको न्यूनतम मूल्य निर्धारण गरिएको हो ।नतुलसीपुरमा १५ जना युवाले व्यवसायिक र सरकार तथा निजी गरी ४ वटा विद्यालय गोरखा मोडेल कलेज ,तुलसीपुर बहुप्राविधिक शिक्षालय, गुरु जजुर नमुना मावि र अमर मावि उरहरीका विद्यार्थीले तिहारलाई लक्षित गरि फूल खेती गरेका छन ।
तुलसीपुर १२ मा रहेको तुलसीपुर मेट्रो कलेजले गत वर्षदेखि फूलखेती गर्दै आएको छ । पहिलो वर्ष फुलबाट राम्रो आम्दानी भएपछि विद्यार्थीहरू उत्साहित भएर यस पटक पनि फुलको खेती गरेको कलेजका प्रमुख बसन्त आचार्यले बताए ।उनका अनुसार पछिल्लो समय व्यवसायिक फूलखेती गर्ने क्रममा बढिरहेको भन्दै चाडपर्व लक्षित मात्र नभइ अन्य समयमा पनि फुलको प्रयोगमा ध्यान दिनु पर्ने बताए । उनले भने,‘ गत वर्ष राम्रो भएपछि यस पटक पनि कलेजले फूलखेती गरेको छ । तर, यहाँ विशेषगरी तिहार लक्षित मात्र हुन्छ । यो भएमा फूलखेती बढ्न सक्दैन । अब चाडपर्वमा मात्र नभइ अन्य समयमा पनि फूलको प्रयोग गर्ने बानी बसाल्न उपमहानगरले नीति बनाउन जरुरी छ । ’यस्तै उनले सबै फुल व्यवसायीहरूमा मूल्य एकरूपता हुन जरुरी रहेको समेत उल्लेख गरे
यस्तै गोरखा मावि तुलसीपुरले पनि यस वर्षदेखि फूलखेती गरेको छ । तुलसीपुर ६ गोलौरामा जग्गा भाडामा फूल खेती गरेको छ कलेजका प्रमुख पूर्ण बिक्रम डाँगीका अनुसार पढ्दै, सिक्दै कार्यक्रम अन्तर्गत विद्यालयले फूलखेती शुरु गरेको हो । यस्तै उनले बजारमा फुलको मूल्य एकरूपता नहुँदा समस्या भइरहेको भन्दै अब उपमहानगरले निर्धारण गरेपछि सहज भएको बताए ।उनले भने,‘ आफूखुशी मूल्य गर्दा सबैलाई असर पुग्न सक्छ । सबैलाई एउटै किसिमको मूल्य भएपछि सबैलाई फाइदा हुन्छ । फुल्न किन्ने नागरिकहरूलाई पनि असर हुँदैन । हाम्रो फुलले पनि बजार पाउन सक्छ ।’ एकअर्काको प्रतिस्पर्धा गरेर कुनै पनि व्यवसाय सफल नहुने समेत उनको भनाइ छ । यस्तै तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसेले उपमहानगरले प्लाष्टिकजन्य फुल रोक लगाएको प्रति धन्यवाद दिए ।
उनले कुनै पनि व्यवसाय गर्दा फरक फरक भएपछि मात्र सहज रुपमा बजार पाउन सक्ने भएकाले आगामी दिनमा सबैले ध्यान दिनु पर्ने बताए । उनले भने,‘ हाम्रो संस्कृति यस्तो रहेको छ । मैले कुनै एउटा व्यवसाय गरे, अरुले पनि त्यही गर्छन् । जसले गर्दा सबै व्यवसाय डुब्ने नै हुन् । त्यसैले सबैले फरक फरक व्यवसाय गर्न जरुरी छ । अबका दिनमा उपमहानगरले यसमा ध्यान दिनुपर्छ ।’ यस्तै उनले तुलसीपुरमा गरिएको फूलखेतीको बजारिकरणमा संघले सहयोग गर्ने समेत बताए । उनले तुलसीपुरमा आश्वयक भन्दा बढि भएको फूलहरू बाहिर पठाउनका लागि आफूहरूले सहजीकरण गर्ने समेत बताए । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले स्थानीय फुल व्यवसायीहरूले उत्पादन गरेको फूलको बजारिकरणमा सहजता लागि न्यूनतम मूल्य निर्धारण गरिएको बताए ।
उनका अनुसार सयपत्री फुललाई होलसेल मूल्य प्रतिकेजी साढे तीन सय र फुटकरमा चार सय र प्रतिमाला २ सय रुपैयाँ मूल्य निर्धारण गरिएको छ । यस्तै स्थानीय कृषक तथा व्यवसायीलाई फूल मालाहरू बिक्री वितरणमा सहयोग गर्न तुलसीपुरका विभिन्न चार स्थानहरू उत्तरमा अरनिको मैदान, दक्षिणमा तरकारी तथा फलफूल परिसर, पश्चिममा बसपार्कको कोसेली घर र पूर्वमा घोराही रोडमा रहेको तुलसी मार्टलाई तोकेको समेत बताए । यस्तै तुलसीपुर बजारमा प्लाष्टिकका मालाहरू विस्थापित गर्नका लागि सबै सरोकारवालाहरूले संयुक्त रुपमा अनुगमन गर्ने र प्लाष्टिकका माला बिक्री गर्दै आएका व्यवसायीलाई फूलका मालाहरू बिक्री वितरण गर्न आग्रह गर्ने समेत बताए ।