२०८१ कार्तिक १७ गते शनिवार | 2024 November 2nd Saturday

दाङका साप्ताहिक पत्रिका सञ्चालक सङ्गठित

दाङ, १३ जेठ । दाङका साप्ताहिक पत्रिकाका सञ्चालकहरू सङ्गठित भएका छन् । जिल्लामा प्रकासित  पाँच वटा साप्ताहिक पत्रिकाका सञ्चालकहरू सङ्गठित भएका हुन् । हाल दाङको तुलसीपुरबाट तीन वटा र घोराहीबाट दुई वटा साप्ताहिक पत्रिका प्रकाशित हुँदै आएका छन् । आइतबार घोराहीमा भएको भेलाले सूचनापत्र साप्ताहिकका प्रकाश वंशी कुमार शर्माको संयोजकत्वमा साप्ताहिक पत्रिका सञ्जाल दाङ गठन गरिएको हो ।

जसको सहसंयोजकमा लौवा अग्रासन साप्ताहिकका प्रकाशक सन्तोष दहित, सचिवमा साक्षी खबर साप्ताहिकका प्रकाशक राकेश बस्नेत र कोषाध्यक्षमा अग्रिम साप्ताहिकका प्रकाशक दीपक बोहरालाई चयन गरिएको छ । त्यस्तै नौलो जनउभार साप्ताहिकका प्रकाशक अजयदीप शर्मालाई सल्लाहकारमा चयन गरिएको छ ।

साप्ताहिक पत्रिकाका हरेक समस्या सामूहिक ढंगबाट हल गर्नका लागि उक्त सञ्जाल गठन गरिएको हो । दाङमा पाँच वटा साप्ताहिक पत्रिका रहेपनि स्थानीय सरकार तथा सरकारका अन्य निकायले ति पत्रिकाको हकहितका लागि कुनै पनि चासो नदिएको भन्दै खबरदारी गरिने संयोजक शर्माले बताए ।

त्यस्तै साप्ताहिक पत्रिकाले नै सत्य तथा निष्पक्ष समाचार सम्प्रेषण गरिरहेको र विश्वास पनि दिलाइरहेको अवस्थामा पनि यी पत्रिका जोगाउन तर्फ कसैको ध्यान नगएको उनको भनाई छ । दाङबाट आइतबार सूचना पत्र, सोमबार अग्रिम साप्ताहिक, मंगलबार लौवा अग्रासन तथा बुधबार साक्षी खबर र नौलो जनउभार प्रकाशित हुँदै आएका छन् । यी पत्रिकाहरूलाई बोलपत्र आह्वान तथा कोटेसनका सूचना प्रकाशनको अनुमति दिनुपर्ने सहसंयोजक दहितले बताए । साप्ताहिक पत्रिकाले खोजी विषय उठाईरहेको भन्दै यसले पत्रकारिताको इथिक्स जोगाइरहेको भन्दै यस तर्फ सबै निकायले ध्यान दिनुपर्ने सचिब राकेश बस्नेतले बताए ।

प्रकाशित मिति : २०८१ जेष्ठ १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस