२०८३ जेष्ठ २३ गते शनिवार | 2026 June 6th Saturday

सल्यानका शेरबहादुर डाँगीलाई ‘चन्द्रमधु गीत सङ्गीत पुरस्कार-२०८२’

दाङ, २३ जेठ । सल्यान बागचौरका गीतकार, गायक तथा शिक्षक शेरबहादुर डाँगी लाई राप्ती साहित्य परिषद् केन्द्र, घोराहीले यस वर्षको प्रतिष्ठित ‘चन्द्रमधु गीत सङ्गीत पुरस्कार-२०८२’ प्रदान गरेको छ । परिषद्को ४९ औँ वार्षिकोत्सव, पुरस्कार वितरण, सिर्जनावाचन तथा २६ औँ साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा परिषद्का अध्यक्ष कमलमणी देवकोटा ले डाँगीलाई पुरस्कार प्रदान गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

वि.सं. २०४५ सालमा सल्यानको सानागाँडाकोटमा जन्मिएका डाँगीले प्रारम्भिक शिक्षा श्री भुवनेश्वरी आधारभूत विद्यालय गाँडाकोट र माध्यमिक शिक्षा श्री बालकन्या माध्यमिक विद्यालय कोटवाराबाट हासिल गरेका हुन् । उनले दाङस्थित नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत श्री जनता विद्यापीठ, बिजौरीबाट आईएससी, अमृत साइन्स क्याम्पस बाट बीएससी तथा त्रिचन्द्र क्याम्पस बाट रसायन विज्ञान विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरेका छन् ।

साहित्य तथा सङ्गीत क्षेत्रमा सक्रिय डाँगीले २०७६ सालमा भरतमणि-शारदा देवी साहित्य पुरस्कार प्राप्त गरेका थिए ।

२०७७ सालमा आफ्नै रचना र स्वरमा रहेको ‘वीर नेपाली’ राष्ट्रिय गीत सार्वजनिक गरेपछि उनले ज्योति म्युजिक फिल्म अवार्ड समेत प्राप्त गरेका थिए । उनका ‘वीर नेपाली’ र ‘पर्खाइमा नेपाल आमा’ लगायतका गीतले विशेष चर्चा बटुल्दै आएका छन् । हाल डाँगी सल्यानको बागचौर नगरपालिका स्थित श्री जनकल्याण माध्यमिक विद्यालय, थारमारेमा रसायनशास्त्र शिक्षकका रूपमा कार्यरत छन् ।

प्रकाशित मिति : २०८३ जेष्ठ २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस