दाङ, १५ माघ । प्रेस सेन्टर नेपालको स्थापना दिवसको अवसरमा तुलसीपुर शाखाले दीप प्रज्वलन गरेको छ । शाखा अध्यक्ष टेकराज भण्डारीको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि आचार्यले प्रेस सेन्टरले सधैं अन्यायको पक्षमा कलम चलाएको बताए ।
त्यस्तै विशिष्ट अतिथि लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य धनबहादुर मास्कीले आवाज विहीनहरूको आवाज उठाउँदै आएकाले प्रेस सेन्टर अहिलेको अवस्थामा आइपुगेको बताए ।
सेन्टर नेपाल दाङका सचिव दीपक बोहराले प्रेस सेन्टरले नै दबिएर रहेका आवाज हरूलाई बुलन्द गर्दै आएको बताए । न्यायको पक्षमा कलम चलाउन प्रेस सेन्टरको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ थियो ।
कार्यक्रममा पार्टीका दाङ जिल्ला संयोजक हरिमान पुन वरुण प्रदेश कमिटी सदस्य प्रेमराज ओली प्रभात, खुसीराम चौधरी, ईश्वरी पाण्डे लगायतको सहभागिता रहेको थियो ।