२०८२ फाल्गुन २३ गते शनिवार | 2026 March 7th Saturday

तुलसीपुरमा करिब ११ हजार बालिकाहरूलाई एचपीभी खोप लगाइँदै

दाङ, २० माघ । किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ढुक्कले लगाउन सरोकारवालाहरूले बताएका छन् । माघ २२ गतेदेखि फागुन ६ गतेसम्म कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीलाई ‘ह्युमन पापिलोमा भाइरस’ ( एचपिभी )  खोप लगाउने सबै तयारी पुरा भएको हुँदा ढुक्कले खोप लगाउन आग्रह गरिएको छ । तुलसीपुर उपमहानगरको स्वास्थ्य शाखाले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा मेयर टीकाराम खड्काले समाजबाट मुखको पाठेघरको क्यान्सरलाई भगाउनका लागि लक्षित किशोरी सबैले अनिवार्य रुपमा महत्व दिएर खोप लगाउन आग्रह गरे ।

बालरोग विशेषज्ञ डा. किशोर खत्रीले राज्यले निशुल्क रुपमा लगाउन थालेको खोप निकै महँगो भएको हुँदा किशोरीका लागि यो ठूलो अवसर भएको बताए । खोप निकै सुरक्षित र भरपर्दो रहेको भन्दै उनले ढुक्कका साथ खोप लगाउने अवसरबाट कोही पनि बञ्चित नहुन आग्रह गरेका थिए । उनले अहिलेको अवस्थामा नेपालमा सबै भन्दा बढी महिलाको मृत्यु पाठेघरको क्यान्सरबाट हुने गरेको भन्दै त्यो बाट जोगिन खोप निकै उपयोगी रहेको बताए । जिल्ला स्वास्थ्यका भानुज्योति वलीले विश्व क्यान्सर दिवसको अवसर पारी माघ २२ देखि फागुन ६ गतेसम्म लगाउन थालिएको पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप एकदमै उपयोगी भएको हुँदा लक्षित सबैले लगाउन सुझाए । 

उनले केहीलाई सामान्य समस्याहरू देखिएपनि त्यो आफै सञ्चो हुने हुँदा त्यसबाट स्वास्थ्यमा कुनैपनि असर नरहने बताएका थिए ।तुलसीपुरकी उपमेयर स्यानी चौधरीले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन राज्यले दिन थालेको खोप एउटा महत्वपूर्ण अवसरको रुपमा लिन आग्रह गरिन । तुलसीपुर – ६ का पूर्व अध्यक्ष तथा बालअधिकारकर्मी नवराज लामिछानेले निरोगी भइ बाँच्न पाउने किशोरीको अधिकारसँग जोडिएको खोपलाई महत्व दिएर लक्षित किशोरीले लगाउन आग्रह गरे ।तुलसीपुर स्वास्थ्यका प्रमुख ओमप्रकाश न्यौपाने खोपको सम्पूर्ण तयारी पुरा भइ सकेको बताए ।

आगामी वर्षदेखि यो खोपलाई राज्यले अनिवार्य खोपका रुपमा लगाउने नीति लिएको हुँदा लक्षित वर्गले आगामी वर्षदेखि फेरि खोप लगाउनु पाउने हुँदा अहिले आफूले नपाएको भएपनि अर्को वर्ष पालो आउने बताएका थिए ।तुलसीपुर स्वास्थ्यका विमल केसीले तुलसीपुरका एक सय विद्यालयमा एक सय खोप केन्द्र स्थापना गरिएको, खोप लगाउन एक सय २२ जना स्वास्थ्यकर्मी खटाइएको बताए ।तुलसीपुरमा विद्यालयमा कक्षा ६ देखि १० मा अध्ययन गर्ने छात्राको अनुमानित सङ्ख्या दश हजार तीन सय २७ र विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका इँट्टाभट्टामा समेत काम गर्ने किशोरीसहित गरि कुल ११३३९ जनालाई खोप लगाउने लक्ष्य राखिएको जानकारी दिए ।

प्रकाशित मिति : २०८१ माघ २० गते आइतवार
प्रतिक्रिया दिनुहोस