२०८२ चैत्र २० गते शुक्रवार | 2026 April 3rd Friday

चुनढुङ्गा बोक्ने टिप्परविरुद्धको आन्दोलनमा वडा नं. ५ को ऐक्यबद्धता

सल्यान, २८ मंसिर । कपुरकोट–खाली मिलन बजार–निगालपानी हुँदै कोईला सडक खण्डमा चुनढुङ्गा बोक्ने टिप्परहरूको अत्यधिक आवागमनका कारण सडक जीर्ण, जोखिमपूर्ण बन्दै गएको छ । धुलो, धुवाँ र ध्वनि प्रदूषणका कारण स्थानीय बासिन्दाको दैनिकी प्रभावित हुनुका साथै जनस्वास्थ्यमा समेत गम्भीर असर परेको स्थानीयले गुनासो गरेका छन् ।

उक्त समस्याबाट पीडित स्थानीय बासिन्दा, मिलन बजार व्यवस्थापन समिति तथा मिलन बजार युवा क्लबले मिति २०८२ साल मंसिर २४ गतेदेखि शान्तिपूर्ण आन्दोलन सुरु गरेका छन् । आन्दोलनप्रति कपुरकोट गाउँपालिका वडा नं. ५ ले औपचारिक रूपमा पूर्ण ऐक्यबद्धता तथा समर्थन जनाएको छ ।

वडा अध्यक्ष होस बहादुर खड्काले जारी गरेको विज्ञप्तिमा चुनढुङ्गा बोक्ने टिप्परका कारण सडकको अवस्था अत्यन्तै दयनीय बनेको उल्लेख गर्दै सम्बन्धित निकायहरूलाई तत्काल समस्या समाधानका लागि पहल गर्न आग्रह गरिएको छ । विज्ञप्तिमा समस्या समाधान नभए आन्दोलन थप सशक्त बनाइने संकेतसमेत गरिएको छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस