दाङ, २ कार्तिक । दाङको गढवा गाउँपालिकामा २ महिला माथि दुर्व्यवहार भएको घटना बाहिरिएको छ । गएराती ८:२० बजेको समयमा ती महिला माथि अपरिचित केही युवाहरूले दुर्व्यवहारको प्रयास भएको घटनामा प्रहरीमा आएको छ । इलाका प्रहरी कार्यालय गढवाका कार्यालय प्रमुख प्रहरी निरीक्षक साहिल बुढाथोकीले घटनाबारे मौखिक उजुरी प्राप्त भएपछि अनुसन्धानलाई तिब्र बनाएको बताएका छन् । उनका अनुसार घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याइने छ । मादक पदार्थ सेवन गरेका केही युवाले दुई महिलामाथि दुर्व्यवहारको प्रयास गरेका थिए । सो क्रममा एक महिलाको ज्याकेट समेत तानिएको जनाइएको थियो । घटनापछि दुवै महिलाले असुरक्षित महसुस गरेको र घटनामा संलग्नमाथि कारबाहीको माग गर्दै प्रहरीलाई जानकारी दिएका थिए । घटनालाई गम्भीरतापूर्वक लिएर निष्पक्ष अनुसन्धान गर्न र दोषी माथि कानुन अनुसार कारबाही गर्न पीडित पक्षले माग गरेको छ । प्रहरीले घटनाको सत्यतथ्य पत्ता लगाउन अनुसन्धान भइरहेको र संलग्न व्यक्तिहरूको पहिचान गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ ।



