दाङ, २० पुष । नेपाल प्रेस युनियन दाङ शाखाले बधाई तथा सम्मान कार्यक्रम गरेको छ । नेपाल पत्रकार महासङ्घमा नवनिर्वाचित जिल्ला शाखाका पदाधिकारी, प्रदेश र केन्द्रका पदाधिकारी तथा सदस्यहरूलाई बधाई र सम्मान गरिएको कार्यक्रममा पत्रकारहरूले सञ्चार क्षेत्रमाथि राज्यले नियन्त्रण कायम गर्न खोजेको भन्दै गुनासो व्यक्त गरेका छन् ।
नेपाल प्रेस युनियन दाङ शाखाका अध्यक्ष नारायण खड्काको अध्यक्षतामा आयोजित कार्यक्रममा पत्रकार महासङ्घका निवर्तमान अध्यक्ष विपुल पोखरेल प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै पोखरेलले राज्यले सञ्चार क्षेत्रको दिगोपना सुनिश्चित गर्न अभिभावक को भूमिका निभाउन नसकेको र यसको सट्टा कानुन तथा नीतिका नाममा सञ्चार जगतलाई कुण्ठित पार्ने प्रयास भइरहेको बताए ।
“राज्यले सञ्चार क्षेत्रलाई नियन्त्रणमा राख्न विभिन्न बहाना बनाउँदै आएको छ। सञ्चारकर्मीहरू हरेक समयमा सचेत रहनुपर्छ,” उनले भने । पोखरेलले विज्ञापन वितरण प्रणालीमा बिचौलियाको भूमिका हटाउन पनि जोड दिए । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका सचिव सविन प्रियासनले सङ्कटमा रहेका सञ्चार माध्यमलाई जोगाउन सामूहिक प्रयास आवश्यक रहेको बताए ।
यस्तै, प्रेस युनियनका केन्द्रीय उपमहासचिव सुलोचना गौतमले पत्रकारहरूको क्षमता अभिवृद्धिमा महासङ्घले पहल गर्नुपर्ने धारणा राखिन् । सम्मान कार्यक्रममा महासङ्घका केन्द्रीय सदस्य लिला शाह, प्रेस काउन्सिलका सदस्य शरद अधिकारी, महासङ्घ लुम्बिनी प्रदेशका महासचिव पाण्डवप्रसाद शर्मा, महासङ्घ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदी लगायतले विचार व्यक्त गरे ।
कार्यक्रमको सहजीकरण सचिव अमर क्षितीज भण्डारीले गरेका थिए भने उपाध्यक्ष गोपाल शर्मा भट्टराईले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा महासङ्घका विभिन्न तहका पदाधिकारी तथा सदस्यहरू लाई सम्मान गरिएको थियो । कार्यक्रमका वक्ताहरूले सञ्चार क्षेत्रका चुनौतीहरूको समाधानका लागि सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औंल्याउँदै, सञ्चारकर्मीहरूको सुरक्षाका लागि राज्यले जिम्मेवारी बहन गर्नुपर्ने माग गरे ।