२०८२ माघ १९ गते आइतवार | 2026 February 1st Sunday

डिजिटल युगको राजनीति, नेतृत्व र युवाको निर्णायक भूमिका

अर्जुन भट्टराई । 

आजको संसार तीव्र गतिमा बदलिँदैछ । डिजिटल प्रविधि, सूचना प्रवाह, सामाजिक चेतना र नागरिक सक्रियताले राजनीतिक संस्कृतिलाई नयाँ आयाम दिएको छ । यिनै परिवर्तनहरूले प्रमाणित गरिदिएका छन् । अब राजनीति केवल नारा वा भीडको संख्या मात्र होइन, बुद्धि, विवेक र चेतनाको समुचित प्रयोगबाट नै सफल हुन्छ ।

हामीले स्वीकार्नैपर्ने एउटा सत्य के हो भने समृद्धि र सुशासन कहिल्यै आकस्मिक रूपमा जन्मिँदैन । त्यो जन्मिन्छ सक्षम नेतृत्व, स्पष्ट योजना, वैचारिक परिपक्वता र जिम्मेवारीप्रतिको प्रतिबद्धताबाट ।

यही कारणले आजको दिनमा राजनीतिक दलले केवल युवालाई आकर्षित गरेर मात्र विजयको दावा गर्न सक्दैन । युवालाई पार्टीमा भित्र्याउनु पर्याप्त होइन युवाको प्रतिभा, क्षमता, विश्लेषण शक्ति र प्रविधि अनुकूल सोचलाई जिम्मेवारीमार्फत उपयोग गर्न सकिनुपर्छ ।

जिम्मेवारी दिनु नेतृत्वको ठूलो कला हो । तर त्यो जिम्मेवारी, कसैप्रतिको भक्तिभाव, व्यक्तिगत नाता, चलखेल वा समूहगत लाभका आधारमा दिन थालियो भने राजनीति दिशाविहीन हुन्छ । देशले कहिल्यै अपेक्षित यात्रामा अघि बढ्दैन । आजको नेपाललाई आवश्यक छ । दक्षता, अनुभव र नवीन सोचको सन्तुलित मिश्रण ।

अबको नेतृत्वले गलतलाई चिर्न सक्नुपर्छ, सत्य र पारदर्शितालाई प्राथमिकता दिनुपर्छ, चेतनाको रंग बोकेर सम्भावनाको बाटो देखाउनुपर्छ, योजनालाई कागजमा होइन, परिणाममा बदल्न सक्नुपर्छ ।

यही क्षमता भएको नेतृत्वले मात्र डिजिटल युगको चुनौतिलाई अवसरमा रूपान्तरण गर्न सक्छ । देशलाई अब भावना होइन विवेकयुक्त निर्णय चाहिएको छ । राजनीतिक दललाई अब भीड होइन योग्य मानव स्रोत चाहिएको छ । र राष्ट्रलाई अब पुरानोपनको पुनरावृत्ति होइन नयाँ सोच, योजनाबद्ध कार्यशैली र दुरदर्शी दृष्टिकोण आवश्यक छ । हामीले हाम्रो पाइलासँगै सोचलाई पनि अघि बढाउन सके,

व्यक्तिगत भावनाभन्दा राष्ट्रिय हितलाई अगाडि राख्न सके, युवा पुस्ताको क्षमतामा भरोसा गर्न सके नेपाललाई समृद्धिको बाटोतर्फ धकेल्ने शक्ति यही पुस्तामै छ ।

डिजिटल युगले हामीलाई एउटा स्पष्ट सन्देश दिएको छ, अब विचारले देश चल्छ, चरित्रले नेतृत्व टिक्छ, र चेतनाले भविष्य बनाउँछ ।

प्रकाशित मिति : २०८२ मङ्सिर २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस