२०८२ माघ २ गते बिहिवार | 2026 January 15th Thursday

गृहले बर्खास्त गर्‍यो डिएसपी केसीलाई

गृह मन्त्रालयले प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई बर्खास्त गरेको छ । मंगलबारदेखि लागु हुने गरी मन्त्रालयले डिएसपी केसीलाई हटाएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी कुँवेर कडायतले जानकारी दिए । ‘आजको मितिबाट गृहले नोकरीबाट हटाएको छ,’ उनले भने ।

प्रहरी प्रधान कार्यालयले झन्डै एक महिना अघि उनलाई कारबाही गर्न सिफारिस गरेको थियो । ईलाका प्रहरी कार्यालय बुटवलमा रहँदा सुन व्यापारीसँग रितपूर्वक सुन बरामद नगरेको र बदनियत राखेर आफैंले लिन खोजेको भन्दै प्रहरी प्रधान कार्यालयले उनलाई बर्खास्त गर्न भन्दै गृहमा सिफारिस गरेको थियो। यस सम्बन्धमा छानबिन गर्न एसएसपी चन्द्रकुवेर खापुङ नेतृत्वको छानबिन समिति समेत बनेको थियो । उक्त समितिले पनि उनलाई भ्रष्टाचार ऐन अनुसार कारबाही गर्न सिफारिस गरेको थियो ।

गत मंसिरमा बुटवलका सुन व्यापारी किसन बिकको साथबाट ३६ तोला ३२ लाल सुन बरामद गरे पनि केसीले सुनको वैध वा अवैध के हो भन्नेबारे छानबिनका लागि मुद्दा नचलाई आफैंले राखेको सूचना पाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले केसीलाई गत पुस ११ गते निवासबाटै नियन्त्रणमा लिएको थियो । सिआइबीको टोलीले विकसँग बरामद गरेको सुन फिर्ता गर्न केसीले लिएको ८ लाख ५० हजार नगद रुपैयाँ र ९ लाख ५० हजार रुपैयाँको चेक समेत केसीको निवासबाट बरामद गरेको थियो।

त्यसपछि प्रहरी प्रधान कार्यालयले केसीलाई निलम्बन गरी अनुसन्धान गरेको थियो । केसीबारे छानबिन गर्न गठित समितिले छानबिन पूरा गरी तत्कालीन प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई प्रतिवेदन बुझाएको थियो ।

प्रकाशित मिति : २०८० साउन ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस