२०८१ असोज २० गते आइतवार | 2024 October 6th Sunday

पुलै पुलले जोडिदैछ‘पश्चिम दाङ’ : एकै पटक बन्ने छन् ९ वटा पुल

पश्चिम दाङका सडक बीचमा पर्ने खोलाहरुमा पुल बन्ने भएको छ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले चालु आर्थिक बर्ष २०८०/०८१ कालागि ९ वटा पुलमा बजेट बिनियोजन गरेका छन् । दाङको विकट क्षेत्रका रुपमा रहेको गंगट पुग्न विभिन्न खोलामा पुल निर्माण हुनेछन् ।जहाँ यस अघि पुल नहुँदा बर्षादको समयमा आवतजावत ठप्प नै हुने गरेको थियो । बबई गाउँपालिकाको हापुरेदेखि गंगटे पुग्न २३ किलोमिटर मात्रै हो । तर, बर्षादमा सडकबीचका खोलाहरुमा पुल नहुँदा उपचारलगायत अन्य कार्य गर्न एक दिन पैदल हिड्नु पर्ने बाध्यता थियो । त्यसलाई मध्येनजर गरि हापुरे-गंगटे सडकमा तीन वटा खोलामा पुल निर्माण हुने भएका छन् ।

रिम खोलीमा बेलीवृज पुलकालागि ५० लाख, तिनतलेमा बेलिबृज पुल निर्माणकालागि ५० लाख भांगावारीमा बेलिबृजकालागि ५० लाख बजेट छुट्याएको मन्त्री मास्कीले बताए । त्यस्तै तुलसीपुर देखि हापुर जोड्ने सडक अन्तर्गत पर्ने तुलसीपुर १ भमके खोलमा पुल निर्माणकालागि १ करोड, शान्तिनगर ३ पातेटाकुरा खोलामा पुल निर्माणकालागि ७५ लाख, बौलाखोला माथिल्लो बाटोमा पक्कीपुल निर्माणकालागि १ करोड, बबई गाउँपालिका अन्तर्गत राजीखरे खोलामा पुल निर्माणकालागि ७५ लाख बजेट परेको छ । त्यस्तै ट्वाङखोलामा डिपीआरसहित पक्की पुल निर्माणकालागि १ करोड ५० लाख,पुरन्धारा हुँदै मलै जाने सडकको बबई नदीमा पुल निर्माणकालागि डीपीआर गर्न १५ लाख तथा बकरीया सरुवाडाँडा गोल्टाकुरी कालितारा सडकमा पुल निर्माणकालागि १ करोड २५ लाख बजेट परेको अर्थमन्त्री मास्कीले बताए ।

यी खोलामा पुल नहुँदा बर्षादको समयमा आवतजावतमा निकै समस्या हुने गरेको थियो । खोलामा पानीको बहाब बढ्दा आवतजावतमा समस्या हुने गरेको थियो भने सवारी नै बगाउनेसम्मका समस्या नागरिकले भोग्दै आएका थिए । तर, अब ति खोलामा पुल बनेपछि ति समस्या हटेर जाने नागरिकले अपेक्षा गरेका छन् ।

प्रकाशित मिति : २०८० साउन १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस