२०८१ असोज २६ गते शनिवार | 2024 October 12th Saturday

नेकपा माओवादीका उपाध्यक्ष महरामाथि छानबिनको माग

काठमाडौ, १९ श्रावन । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पार्टी उपाध्यक्ष कृष्णबहादुर महरामाथि छानबिन हुनुपर्ने माग उठेको छ । सुन तस्करीमा संलग्न रहेको भनेर सार्वजनिक रुपमा प्रश्न उठिरहेको भन्दै उपाध्यक्ष महरामाथि छानबिन गर्न माग भएको हो । काठमाडौँमा चलिरहेको केन्द्रीय समिति बैठकमा सांसद तथा केन्द्रीय सदस्य लेखनाथ दाहालले सार्वजनिक रुपमा प्रश्न उठेकाले महरामाथि पनि छानबिन गरिनुपर्ने माग राखेका छन । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि टिप्पणी गर्दै उनले माओवादीको नेतृत्वमा सरकार रहेको समयमा पार्टीको उपाध्यक्ष पदमा रहेका व्यक्तिमाथि सुन तस्करीको आरोप लागेकाले छानबिन गरेर प्रष्ट पार्नुपर्ने बताएका छन ।

अहिले छानबिन नगर्ने हो भने पार्टीले उन्मुक्ति दिएको भनि सधैं प्रश्न उठ्ने भएकाले त्यसको निवारणका लागि पनि छानबिन हुनुपर्ने दाहालको भनाइ छ । केही समय अगाडि त्रिभुवन विमानस्थलबाट विद्युतीय चुरोटमा लुकाएर ल्याइएको तस्करीको सुन प्रकरणमा माओवादी उपाध्यक्ष महरा र उनका छोरा राहुलको नाम जोडिएको थियो । सुन तस्करीमा संलग्न रहेका भनिएका चिनियाँ नागरिकसँग महरा र राहुलको पटक–पटक टेलिफोन सम्पर्क भएको विषय सार्वजनिक भएपनि माओवादीले यसबारेमा केही बोलेको छैन ।

प्रकाशित मिति : २०८० साउन १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस