२०८१ माघ ११ गते शुक्रवार | 2025 January 24th Friday

महराका बाबुछोरामाथि अनुसन्धान गर्न सीआईबीलाई निर्देशन दिएको छ :- प्रधानमन्त्री प्रचण्ड

काठमाडौ, ३० साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरामाथि छानबिन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई निर्देशन दिइसकेको बताएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले पूर्व सभामुखतथा मन्त्रीसमेत रहेका पार्टी उपाध्यक्ष महरा र उनका छोरा राहुलमाथि अनुसन्धान अघि बढाइने बताएका छन । उनले भ्रष्टाचारविरूद्ध सरकार निर्मम ढङ्गले लागेकाले पार्टीको नेता भन्दैमा कसैलाई छुट नदिइने पनि बताएका छन ।

पूर्व सभामुख महरा र छोरा राहुलबिच सुन तस्करीका अभियुक्तसँग पटक–पटक फोन संवाद गरेको पुष्टि गर्दै प्रहरीले दुबैजनालाई अभियुक्त किटान गरेपनि मुद्दा भने चलाएको थिएन । महराले भने अरू नै सामान रोकिएको भनेर चिनियाँ नागरिकले गुनासो गरेपछि आफूले बुझिदिएको जिकिर गरेका छन । महराले सुन तस्करी प्रकरणको अनुसन्धानका लागि सघाउन आफू तयार रहेको बताएका छन । अनुसन्धानका लागि बोलाउनुस् भनेको तर सम्बन्धित निकायबाट आफूलाई नबोलाएको महराको दाबी छ । महराले सुन तस्करी प्रकरणमा नाम जोडिएका चिनियाँ व्यापारी वाङलाई १० वर्ष अघिदेखि फलफूल व्यापारीका रूपमा मात्र चिनेको पनि बताएका छन । आफूलाई यो प्रकरणमा किन जोडियो र केही समूह किन पछि लागेका छन् भनेर अचम्म लागेको महराको भनाइ छ ।

प्रकाशित मिति : २०८० साउन ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस