
बुटवल, १३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रियता र स्वाधिनताको पक्षमा आफू जनयुद्ध जसरी लडेको बताएका छन । उनले बुटबलमा आयोजित समाजवादी मोर्चा नेपालको सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले अहिले कसैबाट हुन्न र केही हुन्न भन्दै निराशा बाँड्न खोजिएको उल्लेख गर्दै निराशा बाँडेर सामन्तवाद ब्यूँताउन खोजिएको बताएका हुन । प्रधानमन्त्रीले भने, ‘नेपालको राष्ट्रिय हित, स्वाधिनता र सार्वभौमसत्ताको रक्षाको निम्ति जनयुद्ध जसरी म अहिले पनि लडिरहेको छु । लडाइँको रुप फेरिएको छ तर लडाइँ जारी छ । त्यसमा विश्वस्त रहन सबैमा म अपील गर्न चाहन्छु ।’
प्रधानमन्त्रीले आफूहरु जटिल परिस्थितिमा पनि देशको राष्ट्रिय हित, सार्वभौमसत्ता र आत्मनिर्णयको अधिकारको सुनिश्चित कसरी गर्ने भन्नेमा लागेको बताएका हुन । धेरै अप्ठ्याराहरुको सामना गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सबैभन्दा ठूलो राष्ट्र, जनता, समाजवाद, सुशासन, सामाजिक न्याय र समृद्धि भएको बताएका हुन । उनले अहिले पनि पूँजीपतिहरुले वर्तमान गणतन्त्रलाई फाँसीवादी, दलालहरुको गणतन्त्र वा गणतन्त्र नै उल्ट्एर सामन्ती तत्वहरुसँग सम्झौता गर्न चाहिरहेको बताएका छन । उनले आफूहरु भने जनगणतन्त्रबाट माथि उठाएर समाजवादी गणतन्त्रमा रुपान्तरित गर्न चाहेको बताएका हुन । दुई पक्षबीचको लडाइँ यही भएको बताउनुहुँदै यसमा आफूहरुले विशाल शक्ति सञ्चय गर्नुपर्ने बताएका हुन । त्यसका लागि मित्रहरुका साथै मोर्चामा इमान्दारपूर्वक लाग्नुपर्ने बताएका छन ।
अहिले मोर्चा घोषणाले मात्र नपुग्ने बरु प्रतिक्रियावादी अझै षडयन्त्र गरेर जान्छन् भने यिनै नेताहरु लाखौं जनताको सडकमा नेतृत्व गरेर ती सबै शक्तिहरुलाई परास्त गर्न सक्ने उनको भनाई थियो । उनले जनतालाई समाजवादको प्रशिक्षण दिँदै आन्दोलित गराउनुपर्ने बताएका हुन । त्यसको लागि उनले नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिएका छन ।