२०८१ माघ ५ गते शनिवार | 2025 January 18th Saturday

देशकै ठूलो पार्टी बनाउने हाम्रो लक्ष्य रहेको छ : घर्ती

दाङ, १६ भदौ । नेकपा माओवादी केन्द्र का स्थायी समिति सदस्य जयपुरी घर्तीले माओवादी नेतृत्वको सरकारले शुरु गरेको भ्रष्टाचार विरुद्धको अभियानमा जनताको अपार समर्थन रहेको बताइन् । ‘ घरघरमा माओवादी , जनजनमा माओवादी’ भन्ने मूल नाराका साथ शनिबार देखि शुरु भएको जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत दाङको घोराही १४ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार विरुद्धको यो अभियान नरोकिने बताइन् ।

उनले वर्तमान सरकारले सबै खाले भ्रष्टाचारको फाइल खोल्ने धारणा व्यक्त गरिन् । उनले भनिन्,‘ अहिलेसम्म राज्यसत्तामा रहेर ब्रह्मलुट गरिरहेका पुराना शक्तिहरू अहिले अत्तालिएका छन् । देशमा सुशासन कायम गर्ने माओवादीको प्रमुख मिसन रहेको छ ।’तीन महिने विशेष रूपान्तरण अभियानमा घरघरमा गएर माओवादीले जनतासँग अन्तरक्रिया र छलफल गर्ने उनको भनाइ छ ।

‘ २०८४ सालमा माओवादी यो देशकै सबैभन्दा ठूलो पार्टी बनाउने हाम्रो लक्ष्य रहेको छ,‘ उनले भनिन्,‘ जनतालाई हाम्रो मिसनको बारेमा अझै स्पष्टीकरण पार्न जरूरी छ । ’ माओवादी केन्द्र १४ नं वडा अध्यक्ष विशाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेता दयाजी रोकाले मन्तव्य व्यक्त गरेको थिए । उपाध्यक्ष नन्दबहादुर घर्तीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सचिव भीमकुमारी पुनले गरेकी थिइन् ।

प्रकाशित मिति : २०८० भाद्र १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस