
सुर्खेत, १५ असोज । नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनको मतगणना स्थलमा विवाद भएको छ । एक जना अनधिकृत व्यक्ति मतगणना स्थलमा प्रवेश गर्न खोज्दा प्रहरीले रोक लगाएपछि विवाद उत्पन्न भएको हो । उक्त विवादबाट सिटीहलका सिसाहरु तोडफोड भएको प्रहरीले जनाएको छ ।
‘केहीबेर अगाडि एक जना व्यक्ति निर्वाचन समितिको प्रतिनिधि हुँ भन्दै भित्र जान खोज्नु भयो, हामीले जान दिएनौँ, जान नदिएपछि उहाँका साथीहरुले सिसा तोडफोड गर्नुभएको हो, एक जना प्रहरीले खबरदृष्टिसँग भने । साथै उनीहरुको समुहले निर्वाचन समिति लाचार भएको भन्दै नाराबाजी समेत गरेका थिए । केही समय गणना प्रभावित भएको थियो ।
अहिले विवाद साम्य भएको र मतगणना शान्त रुपमा चलिरहेको प्रहरी स्रोतले जनाएको छ । सुरुवातीमै आज बिहान ८ बजेदेखि हुने भनिएको मतगणना केही घण्टा ढिलोगरी सुरु भएको थियो । एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न असफल भएपछि आइतबार मतदान भएको थियो ।
कुल ६१६ मतदाता मध्ये ६०९ मतदाताले मतदान गरेको अधिवेशनमा अध्यक्ष पदमा तीन जनाले प्रतिस्पर्धा गरेका छन् । कालीकोटका मीनबहादुर शाही, प्रकाश रोकाया र सल्यानका गुलावजंग शाह अध्यक्षको उम्मेदवार छन् । उपाध्यक्षमा लालबहादुर महतारा, दानसिंह परियार र टेकराज पछाइ तथा सचिवमा रुद्रबहादुर शाही र ध्रुबकुमार शाहीबीच प्रतिस्पर्धा भएको छ ।