२०८३ बैशाख ५ गते शनिवार | 2026 April 18th Saturday

गठबन्धन पाँच वर्ष नै जान्छ, कसैले भ्रम नपाल्दा हुन्छ : प्रधानमन्त्री प्रचण्ड

रुकुम पश्चिम, ९ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले संयुक्त राष्ट्रसंघका महासचिव केही दिनमा नेपाल आउने बताएका हुन।

बिहीबार दिउँसो रूकुम पश्चिमको बाफिकोट गाउँपालिकामा आयोजित सहिद स्मृति खेलकुद तथा सांस्कृतिक कार्यक्रम २०८० को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन ।

प्रधानमन्त्रीले भने, “यो माओवादीको एकल सरकार होइन, संयुक्त सरकार हो । तर, गठबन्धन भत्काउन टुटाउन, तोड्न अनेकौं प्रयत्न भएका छन् । तर, उनीहरू सक्दैनन्। म तपाईलाई जोड दिएर भन्छु- यो गठबन्धन पाँचै वर्ष जान्छ। गठबन्धनको एकता र सहकार्यलाई कसैले तोड्नै सक्दैन। कसैले भ्रम नपाल्दा हुन्छ।”

अर्को प्रसंगमा प्रधानमन्त्रीले भने, “संयुक्त राष्ट्रसंघको महासभामा जाँदा मैले राष्ट्रसंघका महासचिवलाई नेपाल भ्रमणको निम्तो दिएको थिएँ । जलवायु परिवर्तनले नेपाललाई पारेको नकारात्मक प्रभाव आफ्नै आँखाले हेरिदिनुस् भनेको थिएँ । मेरो निम्तो स्वीकारेर उनि नेपाल आउँदै छन । यसले विश्वको ध्यान नेपालमा खिच्नेछ। यो नेपालका लागि महत्त्वपूर्ण अवसर हो।”

“कतारका राजा पनि नेपाल आउँदै छन । हामीले वैदेशिक लगानीलाई व्यवस्थित गर्न उनलाई निमन्त्रणा गरेका छौं” प्रधानमन्त्रीले भने, “कतार उदीयमान मुलुक हो। उ नेपालमा लगानी गर्न इच्छुक छ। यसका लागि हामीले सकारात्मक पहल गरेका छौं।”

“क्रान्तिकालमा नेतृत्वलाई अप्ठ्यारो पर्दा रूकुम, रोल्पा, सल्यान, जाजरकोट जाने गर्थें। तपाईहरूले क्रान्तिको रक्षा गर्नुभयो, नीति र नेतृत्वको रक्षा गर्नुभयो। शान्ति प्रक्रियापछि पनि तपाईंहरूसँग बढी आएको छु। यो आधार इलाकाबाट उर्जा लिएर फर्किने गरेको छु। मलाई नयाँ शक्ति प्राप्त भएको अनुभूति हुन्छ” प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्री प्रचण्डले भने, “म प्रधानमन्त्री भएपछि मिटरब्याज पीडित किसानहरूका पक्षमा कानुन बनेको छ। लाखौं मिटरब्याज पीडित जनताले न्याय पाएका छन्, भ्रष्टाचारविरोधी अभियान नयाँ शिराबाट अगाडि बढाइएको छ। देशको स्वाधीनता र समृद्धिका लागि कुटनीतिक पहल गरिएको छ।”

अर्को प्रसंगमा प्रचण्डले भने, “विचारको प्रश्न सबैभन्दा माथि हुन्छ। पहिला प्रचण्डपथ थियोे, त्यसले हामी सबैलाई केन्द्रीकृत र एकीकृत गरेका थियौं। अहिले अलिकति अनेकता देखिएको छ। फेरि हामी विचार संश्लेषण गर्छौं र नयाँ विचारसहित अगाडि जान्छौं।”

“कर्णालीको विकास मेरो प्राथमिकतामा छ” प्रधानमन्त्रीले भने, “शान्ति प्रक्रियापछि रूकुमको मुहार फेरिएको छ। विकास निर्माणका धेरै काम भएका छन्। तर, ती पर्याप्त छैनन्। आगामी दिन रूकुमको विकास उच्च प्राथमिकतामा रहनेछ।”

कार्यक्रममा पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का उपमहासचिवद्वय जनार्दन शर्मा, मातृकाप्रसाद यादव, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : २०८० कार्तिक ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस