२०८२ जेष्ठ ४ गते शुक्रवार | 2025 May 16th Friday

आफ्नै सवारी साधनले ट्रायल दिँदा परीक्षार्थीसँग सेवा शुल्क वापत पैसा लिदै

दाङ, २३ पौष । तुलसीपुर १२ कचिला कल्पना खड्काले आइतबार बिहानै यातायात व्यवस्था कार्यालय तुलसीपुर दाङले  लाइसेन्सको लागि ट्रायल लिने ठाउँमा पुगिन् । उनले आफ्नी सासूआमाको नाममा रहेको स्कुटी चलाउँदै आएकी छन् । त्यही स्कुटीले ट्रायल दिने भनेर ट्रायल लिने ठाउँ भित्र जाँदा उनलाई  २१५ रुपैयाँको रसिद काटेपछि मात्र जान भनियो ।   उनले भनिन्,‘  गेट बाहिर बसेका रहेछन् । मलाई स्कुटीको कागजपत्र देखाउन भने । मैले ल्याएकी छैन् । यो मेरो सासु आमाको नाममा रहेको छ । मैले नै चलाउँछु, भन्दा उनीहरूले नमाने पछि २१५ रुपैयाँ तिरेर भित्र आए ।’ आफ्नै घरको स्कुटी ल्याएर आउँदा पनि भ्याटसहित भनेर २१५ रुपैयाँ तिराएको भन्दै उनले यो अन्याय भएको समेत बताइन् । यस्तै उनले आफूहरू बोलेर मात्र केही नहुने भन्दै सबैले यसरी नै पैसा दिने गरेको बताइन् ।  

यस्तै घोराही १५ भरतपुरबाट आएकी रमिला  शर्माले पनि  आफन्तको स्कुटी हुँदा पनि २१५ रुपैयाँ नै तिरेको बताइन् । आफूले ट्रायलको लागि यातायात कार्यालयमा पहिले नै राजश्व बुझाएको र अब किन बुझाउने भनेर विरोध गर्दा पनि नमानेको उनको भनाइ छ ।   उनले भनिन्,‘ आफ्नो घरपरिवारमा कसैको नाममा रहेको सवारी साधन भएमा त्यसको कागजपत्र देखाएपछि काट्न पर्दैन रे । मैले आफन्तीको ल्याएको आएको थिए । बाध्य भएर पैसा तिर्नु  प¥र्याे । यस्तै उनले २१४ रुपैयाँ यदि नियममा  रहेछ, भने पनि हामीले २१५ रुपैयाँ तिरेका छौँ । सयौँ जनासँग एक/ एक बढि लिइन्छ । त्यो पैसा कता जान्छ । ’ यस्तै उनले भ्याटसहित आफूहरूसँग पैसा लिने गरेको भएयता पनि ठेक्का पाएको कम्पनीले सामान्य रसिद मात्र दिने गरेको गुनासो गरिन् । 

यस्तै दाङको देउखुरीबाट आएका केशव परियारले भने २१५ रुपैयाँको ठाउँमा २५० तिरेको बताए । यसको विरोध गर्दा पैसा नदिए भित्र जान पाइदैन्, भनेर पैसा बुझाएको उनको भनाइ छ । उनले पनि आफ्नो साथीको बाइक लिएर ट्रायल दिनेको लागि आएको बताए । उनले भने,‘ मेरो बाइक छैन्, मैले मेरो साथीको ल्याएर आएको छु । भन्दा पनि उहाँहरूले मान्नु भएन । मैले २५० रुपैयाँ नै तिरेको हुँ !’  यि त ट्रायल दिने ठाउँमा आएका प्रतिनिधि पात्र हुन् । यसरी सयौँ जनाले आफ्न्त वा साथी भाइको सवारी साधन ल्याएर आएपछि २१५ रुपैयाँ बुझाएर नै ट्रायल दिने गरेका छन् ।  

जुन कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रालि कास्की पोखरालाई टेन्डर…

                    जुम कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रालि कास्की पोखराले यसरी ट्रायल दिन आउने परीक्षार्थीसँग शुल्क उठाउने जिम्मा पाएको छ । प्रालिका अनुसार यातायात कार्यालय तुलसीपुर दाङ र प्रालिका बिच २०८० मंसिर २४ गते सम्झौता भएको र त्यही अनुसार प्रालिले ट्रायल दिने ठाउँमा उपलब्ध गराएका मोटरसाइकल , स्कुटरको लागि मूल्य अभिवृद्धि करसहित २१४ रुपैयाँ ७० पैसा लिने व्यवस्था रहेको छ ।  यस्तै जिप ,कार, डेलीभरि भ्यानको पनि ४९०  तोकिएको  कर सहित ५५५ रुपैयाँ सेवा शुल्क तोकेको  छ । तर, परीक्षार्थीको स्वयम् नाममा भएको र मापदण्ड पुगेको हुनु पर्ने र अन्यथा आफ्नै सवारी सधानको पनि सेवा शुल्क लाग्ने सूचना जारी गरेको छ । 

प्रालिका प्रतिनिधि जीवन पोखरेलका अनुसार मूल्य अभिवृद्धि कर बाहेक १९० रुपैयाँमा टेन्डर सम्झौता भएको र करसहित २१४ रुपैयाँ ७० पैसा हुने हुँदा ३० पैसा फिर्ता गर्न नमिल्ने भएकाले २१५ रुपैयाँ सेवा शुल्क लिने गरेको उनको भनाइ छ । आफूहरू यो सेवा शुल्क लिन लागेको यो पहिलो ट्रायल रहेको समेत उनले  बताए । आफूहरूले दिने सेवा शुल्क बापत ट्रायल दिने ठाउँमा मापदण्ड अनुसारका १० वटा मोटरसाइकल र ५ वटा स्कुटर रहेको समेत बताए । मोटरसाइकल, स्कुटर नहुनेले यही सेवा शुल्क तिरेर प्रयोग गर्न पाउने समेत बताए ।  उनका अनुसार पहिला यहाँ ट्रायल दिने परीक्षार्थीहरूले आफ्नो  सवारी साधन नल्याएको खण्डमा पाँच सयदेखि एक हजारसम्म दिने गरेका थिए । अहिले आफूहरूले यो काम शुरु भएपछि सबैलाई सहज भएको समेत उनको भनाइ छ । 

सेवा व्यवस्थित गर्नको लागि टेन्डर दिएको हो : यातायात कार्यालय…

                  कार्यालय प्रमुख रमेश कुमार गौतमले यातायात कार्यालयहरूमा पनि यस्तै गरेर व्यवस्थित गरेको हुँदा आफूहरूले पनि त्यही गरेको बताए ।  उनले भने,‘ टाढा टाढाबाट आउने  तर, गाडी , मोटरसाइकल नहुनेलाई खोज्नु पर्ने, धेरै पैसा दिनु पर्ने अवस्था भएको हुँदा त्यसलाई रोक्न हामले यो टेन्डर दिएर व्यवस्थित  गर्न खोजेका हौँ । ’ यस्तै उनले आफ्नो नाममा भएको वा घर परिवारमा कसैको नाममा रहेको सवारी साधन ल्याएको खण्डमा कुनै पनि शुल्क नलाग्ने समेत बताए । सवारी साधन भएकाहरूलाई ट्रायल दिने ठाउँमा  सस्तोका सवारी साधन प्रयोग गर्ने व्यवस्था गरिएको समेत उनले बताए । 

प्रकाशित मिति : २०८० पुष २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस