२०८१ कार्तिक १८ गते आइतवार | 2024 November 3rd Sunday

माओवादी केन्द्रले फागुन १ देखि ३ गते सम्म विधान सम्मेलन गर्दै

काठमाडौँ, २८ पौष । नेकपा (माओवादी केन्द्र)ले आगामी फागुनको पहिलो साता विधान सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले फागुन १ देखि ३ गतेसम्म सम्मेलन आयोजना गर्ने निर्णय गरेको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । बैठकले विधान सम्मेलनको प्रतिनिधि छनोटको आधारसमेत तय गरेको उपाध्यक्ष सापकोटाले जानकारी दिए ।

बैठकमा विभिन्न पार्टीसँग एकताका विषयमा पनि छलफल भएको थियो । बैठकले पार्टी एकताका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा एकता संयोजन समिति बनाएको छ । बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष दाहालले मुलुकको समग्र परिस्थितिबारे ‘ब्रिफिङ’ गरेको प्रवक्ता सापकोटाले जानकारी दिए । स्थायी समितिमा दशवटै प्रदेश इन्चार्जले हालै सम्पन्न अभियानका बारेमा संक्षिप्त जानकारी दिएका थिए । माओवादीले पार्टी रूपान्तरणका लागि गत भदौदेखि चारमहिने अभियान सञ्चालन गरेको थियो ।

प्रकाशित मिति : २०८० पुष २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस