दाङ, ७ फागुन । दाङको तुलसीपुरबाट घोराहीसम्म पुग्नका लागि यात्रु बाहक बसलाई ७० मिनेटको टाइम कार्ड लागु गरिने भएको छ । तुलसीपुरबाट नारायणपुरसम्म ४० मिनेट र नारायणपुरबाट घोराहीसम्म ३० मिनेटको समय तोकेर ७० मिनेटको टाइम कार्ड लागु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख किरण प्रकाश मल्लले जानकारी दिएका हुन ।
दाङको भालुबाङसम्म टाइम कार्ड लागु गरिने भएपनि पहिलो चरणमा तुलसीपुर र घोराहीमा मात्र लागू गरिने भएको छ । टाइम कार्ड सार्वजनिक बस, किप्पर र ट्रकमा लागू गरिने छ । दाङमा बढ्दै गएको सवारी दुर्घटना न्यूनिकरणका लागि टाइम कार्ड लागू गर्न थालिएको ट्राफिक प्रमुख मल्लले बताएका हुन ।
टाइम कार्ड फागुन १४ गतेदेखि लागू हुने छ । टाइम कार्ड हराएमा ५० रुपैयाँ र टाइम कार्ड नियमको उलङ्घन गरेमा ५ सय देखि एक हजार रुपैयाँसम्म जरिवाना गरिने भएको छ । सवारी साधन छुट्ने समयमा ट्राफिक प्रहरीले सवारी चालकलाई टाइम कार्ड दिने छ ।