दाङ, १५ फागुन । दाङको तुलसीपुरमा आज देखि दोस्रो अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता शुरु भएको छ । युथ्स अफ तुलसीपुरको आयोजनामा संचालन भएको प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका उद्योग तथा यातायात मन्त्री रोज राणाले गरेका हुन् ।
खेलको उद्घाटन गर्दै मन्त्री राणाले प्रदेश सरकारले सबै प्रकारका खेललाई प्राथमिकता दिएको बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका राणाले अब बनाउने नितिमा कुस्ती र खेलकुदलाई विशेष प्राथमिकता दिने बताए । साथै उनले खेल क्षेत्रको सर्वागिण विकासका लागि समयसमयमा प्रतियोगिताको आयोजना हुन महत्वपूर्ण कुरा भएको बताए ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले कुस्ती खेलको विकासक्रम बढ्दै गएको जिकिर गरे । नेपालमा कुस्ती प्रतियोगिता विरलै मात्रै भएको बताउदै पछिल्लो समय नेपालमा पनि यस खेलको क्षेत्र फराकिलो हुदै गएको बताए ।
युथ्स अफ तुलसीपुरका अध्यक्ष ऋषिराज लहरे ‘अरुण’ को अध्यक्षतामा भएको कार्यक्रम सदस्य टोप बहादुर वलीको स्वागत मन्तव्यबाट शुरु भएको उद्घाटन कार्यक्रमको सहजीकरण सदस्य शान्तराम सेन्चुरीले गरेका थिए । प्रतियोगिता फागुन १७ गतेसम्म संचालन हुने छ । प्रतियोगितामा ३० जना भारतीय पुरुष पहलवान, २ जना भारतीय महिला पहलवान र ५ जना नेपाली पहलवानसहित जम्मा ३७ जना पहलवानको सहभागिता रहेको छ ।