काठमाण्डौ, २९ फागुन । राष्ट्रिय सभा अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित भएका छन । सभाको आज बसेको बैठकले दाहाल बहुमतले निर्वाचित भएको घोषणा गरेको हो । दाहालले राष्ट्रिय सभा अध्यक्षका लागि सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराएका थिए । उनि नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको तर्फबाट उम्मेदवार बनेका थिए ।
सत्ता गठबन्धनबाट उम्मेदवारीको प्रस्ताव दर्ता गराएका दाहाललाई माओवादी केन्द्रका १७, एमालेका १०, एकीकृत समाजवादीका आठ र जसपाका तीन सदस्य गरी ३८ जनाले पक्षमा मत दिए । यस्तै राष्ट्रपतिबाट मनोनीत वामदेव गौतमले पनि दाहाललाई मत दिए । दाहालका प्रतिस्पर्धी राष्ट्रिय सभा सदस्य कांग्रेसका युवराज शर्मा पराजित भएका हुन । शर्माको पक्षमा १७ मत र विपक्षमा ३९ मत परेको छ । आजको मतदानमा ५६ जना सांसद उपस्थित थिए । राष्ट्रिय जनमोर्चा नेपालका एक मात्र सांसद तुलप्रसाद विश्वकर्माले दुवै उम्मेदवारलाई भोट दिएका थिए ।