२०८१ माघ ६ गते आइतवार | 2025 January 19th Sunday

एकैदिन ४६ जनाले गरे रक्तदान

दाङ, ४ चैत । तुलसीपुरमा रगत अभाव भइरहेको अवस्थामा दुई संस्थाको आयोजनामा एकै पटक ४६  जनाले रक्तदान गरेका छन् । 

एच.आर. मिडिया हाउस प्रालि तुलसीपुर, दाङको आयोजना र ग्लोबल ओरेन्सको शाखा कार्यालय तुलसीपुरको सहकार्यमा खुला रक्तदान कार्यक्रम आयोजना गरिएको एच.आर. मिडिया हाउस प्रालि तुलसीपुर प्रबन्धक  एच.आर मगरले बताए । पछिल्लो समय तुलसीपुरमा रगतको अभाव रहेको भन्ने सुनेपछि खुला रक्तदान कार्यक्रमको आयोजना गरेको आयोजक मगरले बताए । रगत अभावका कारण कसैको पनि ज्यान तलमाथि नहोस्,  भन्ने आफूहरूको उद्देश्य रहेको उनको भनाइ छ । जिल्लामा मासिक करिब ५ सय युनिट रगत खपत हुन्छ, भने तुलसीपुरमा मात्र करिब २ सय युनिट हुने गरेको छ । पछिल्लो समय मिर्गौलाका बिरामीहरूलाई धेरै रगत आवश्यक पर्ने हुँदा रगतको अभाव हुने गरेको छ । 

मानव जीवन एकदमै महत्वपूर्ण रहेको हुँदा रक्तदान कार्यक्रम एकदमै राम्रो कार्य भएको कार्यक्रमका प्रमुख अतिथि  शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले बताए ।  नागरिकहरूलाई रगतको अभाव हुन नदिनको लागि गाउँपालिकाले वार्षिक रुपमा ब्लड बैंकलाई एक लाख दिँदै  आएको र आवश्यकता अनुसार थप सहयोग गर्ने उनको भनाइ छ । कार्यक्रममा युथ अफ तुलसीपुरका सल्लाहकार अरुण लहरेले ब्लड बैंकहरूमा रगत अभाव हुन नदिन युवा साथीहरूले गरेको कार्यको प्रशंसा गरे ।  

रक्तदान कार्यक्रममा केही धेरै पटक दान गरेका ब्यक्तिहरु थिए, भने केही पहिलो पटक गरेका थिए ।  आफूसँग भएको रगत दिँदा अरुको जीवन बाच्ने र आफूलाई पनि फाइदा हुने दाताहरूको  भनाइ छ । गत महिना ३ वटा संस्थाले रक्तदान गर्दा १३० युनिट संकलन भएकोमा १५० बढि माग भएपछि घोराही, लमहीबाट ल्याएर आपूर्ति गरेको तुलसीपुर ब्लड बैंक इन्चार्ज नरेश चौधरीले बताए ।  तुलसीपुरमा ‘वि’ पोजेटिभ रगत अभाव हुने गरेको उनको  भनाइ छ । 

खुला रक्तदानमा ४६ जनाले रगत दान गरेका थिए । जसमा १३ जना महिला र ३३ जना पुरुष रहेका थिए । ग्लोबल ओरेन्सका मनोज चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कार्यक्रम उद्घोषक शान्तराज सेन्चुरीले गरेका थिए ।

प्रकाशित मिति : २०८० चैत्र ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस