दाङ, १२ काक्तिक । दाङको तुलसीपुर उपमहानगरपालिका ८ स्थित लोटेपानी चोकमा रहेको प्रतीक्षालयमा सरसफाइ तथा रङरोगन गरिएको छ ।
‘हाम्रो नेपाल हामी नेपाली’को अगुवाइ तथा ‘जय जीव दर्शन’को सहकार्यमा प्रतीक्षालयको सरसफाइ सँगै खिया लागेका फलामका संरचनामा रङरोगन गरिएको हो ।
‘हाम्रो नेपाल हामी नेपाली’का संयोजक मेघराज केसीका अनुसार प्रतीक्षालयलाई सफा, व्यवस्थित र आकर्षक बनाउने उद्देश्यले सरसफाइ तथा रङरोगन गरिएको हो ।
उक्त कार्यका लागि आवश्यक पर्ने सरसफाइ तथा रङ रोगनका सम्पूर्ण सामग्री समाजसेवी रामचन्द्र केसीले उपलब्ध गराएका थिए । प्रतीक्षालयको सरसफाइ र रङरोगन पछि चोकको सौन्दर्यमा थप निखार आएको छ । सार्वजनिक स्थलको संरक्षण तथा सौन्दर्य अभिवृद्धिका लागि गरिएको यस कार्यले स्थानीयस्तरमा सकारात्मक सन्देश समेत प्रवाह गरेको छ ।
सार्वजनिक सम्पत्तिको संरक्षण र सरसफाइमा सामाजिक संस्था तथा स्थानीय नागरिकको सक्रिय सहभागिता महत्त्वपूर्ण हुने भएकाले यस्ता अभियानले स्वच्छ र सुन्दर वातावरण निर्माणमा सहयोग पुग्ने अपेक्षा समेत गरिएको छ ।






