दाङ, १२ काक्तिक । दाङको बबई गाउँपालिका हापुरे बजारमा आगलागी बाट क्षति भएका दुई पसलका सञ्चालकलाई राप्ती परोपकार संघ, नेपालले ७२ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । बुधबार राति करिब ८:३० बजे हापुरे बजारमा रहेको सारिका शृङ्गार एन्ड गिफ्ट पसलमा आगलागी हुँदा सँगै जोडिएको ओम गंगा किसान पसलमा समेत क्षति पुगेको थियो । आगलागीबाट प्रभावित व्यवसायीलाई राहत पुर्याउने उद्देश्यले संघले आफ्ना सदस्य तथा अन्य सामाजिक व्यक्तिहरूबाट रकम संकलन गरी सहयोग हस्तान्तरण गरेको हो ।
संघका अनुसार संकलित रकममध्ये सारिका शृङ्गार एन्ड गिफ्ट पसलका सञ्चालकलाई ५१ हजार रुपैयाँ र ओम गंगा किसान पसलका सञ्चालकलाई २१ हजार रुपैयाँ प्रदान गरिएको छ । आर्थिक सहयोग संकलनमा संस्थाका संरक्षक सुरेश हमाल, अध्यक्ष सञ्जय कुमार पराजुली, उपाध्यक्ष गोरखबहादुर ओली, कोषाध्यक्ष क्षेत्रबहादुर भण्डारी, सचिव राघव देवकोटा लगायत संस्थाका सदस्य तथा सामाजिक व्यक्तिहरूले योगदान गरेका छन् ।
सहयोग गर्ने दाताहरूमध्ये सुरेश हमालले ११ हजार रुपैयाँ, ओहित सिद्दिकीले १० हजार रुपैयाँ, वीरेन्द्र कुमार शाहले ५ हजार ५०० रुपैयाँ तथा अन्य दाताहरूले पनि आफ्नो क्षमता अनुसार आर्थिक सहयोग गरेका छन् । आगलागीबाट व्यवसायमा क्षति व्यहोरेका व्यवसायीलाई कठिन परिस्थितिमा केही राहत मिलोस् र पुनः व्यवसाय सञ्चालन गर्न हौसला प्राप्त होस् भन्ने उद्देश्यले सहयोग गरिएको संघले जनाएको छ ।
विपद्का बेला सामाजिक संघसंस्था तथा व्यक्तिहरूले देखाएको सहयोग र सद्भावले प्रभावित व्यवसायीलाई राहत मिल्नुका साथै समाजमा आपसी सहयोग र मानवीय सेवाको भावना बलियो बनाउने विश्वास गरिएको छ । राप्ती परोपकार संघ, नेपालले आर्थिक सहयोग हस्तान्तरणमार्फत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै विपद्मा परेका व्यवसायीलाई साथ दिने प्रयास गरेको छ ।






