दाङ, ३० चैत । तुलसीपुर उपमहानगरपालिकाले आफ्नो ३२ औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसलाई सम्बोधन गर्दै दाङ क्षेत्र नम्बर ३ का सांसद दीपक गिरीले तुलसीपुरको विकासका लागि सबै दल एकजुट हुनुपर्ने बताए । हामी फरक दलबाट चुनाव जितेका छौँ । दल फरक भएपनि यस क्षेत्रको विकासका लागि दलभन्दा माथि उठेर एकजुट हुनुपर्छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका सांसद गिरीले भने मैले विकासका सवालमा कसैलाई पक्षपात गर्ने छैन् । तुलसीपुरको समृद्धिका लागि टरिगाउँ विमानस्थल स्तरोन्नति गर्नु पर्नेमा जोड दिँदै त्यसका लागि जनदवाव आवश्यक रहेको बताए ।
तुलसीपुर उपमहानगरका मेयर टिकाराम खड्काले तुलसीपुरको विकासका लागि आफू प्रतिबद्धता भएको भन्दै त्यसका लागि सबै दलको सहयोग अपरिहार्य भएको बताए । कहिलेकाहीँ दलीय आस्थाका कारण विकास निर्माणमा समस्या उत्पन्न हुने भन्दै मेयर खड्काले विकासमा कसैले पनि राजनीति गर्न नहुने बताए । टरिगाउँ विमानस्थल विस्तार गर्न आफू प्रतिबद्ध भएको भन्दै मेयर खड्काले विमानस्थल विस्तार स्थानीय सरकारले गर्न नसक्ने भएकाले त्यसका लागि प्रदेश र संघीय सरकारलाई दबाब दिनुपर्ने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर स्यानी चौधरी, नेपाली कांग्रेसका नगर सभापति सुरेश हमाल, एमालेका सचिव रूप बहादुर खत्री, माओवादी रामबहादुर दहित लगायतकाले आफूहरू विकासका लागि एकठाउँमा उभिने प्रतिवद्धता जनाए । स्थापना दिवसमा उत्कृष्ट काम गरेको भन्दै वडा नम्बर १८ का सचिव रामकुमारी मरासिनी र जनस्वास्थ्य फोकल पर्सन विमल केसीलाई सम्मान गरिएको छ । त्यसैगरी सर्प उद्धारकर्ता प्रभात भण्डारीलाई समेत सम्मान गरिएको छ ।