२०८१ माघ २८ गते सोमवार | 2025 February 10th Monday

तुलसीपुरनगर जेसिजद्वारा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण

दाङ, २३ जेठ । तुलसीपुरनगर जेसिजले विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण गरेको छ । तुलसीपुरनगर जेसिसले विश्व वातावरण दिवसको अवसर पारेर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ स्थित नवदुर्गा ग्रीन पार्कमा वृक्षारोपण गरेको हो । 

तुलसीपुरनगर जेसिजका अध्यक्ष पूर्णबहादुर डाँगीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका ९ का वडाध्यक्ष घनश्याम ढकालको प्रमुख आतिथ्यता एवंम् नवदुर्गा सामुदायिक वनका अध्यक्ष ईश्वरी पाण्डेको विशिष्ट आतिथ्यतामा वृक्षारोपण कार्यक्रम गरिएको अध्यक्ष डाँगीले जानकारी दिए । 

तुलसीपुर उपमहानगरपालिका ९ का वडाध्यक्ष घनश्याम ढकालले वृक्षारोपणबाट विश्वले अहिले झेलिरहेको जलवायु परिवर्तनको समस्या न्युनिकरण तथा अनुकुलनमा सहयोग पुर्याउने बताए । उनले वृक्षारोपण गरेर यस पार्कलाई हराभरा बनाउन सकेमा आगामी दिनमा राम्रो पर्यटकीय गन्तव्य बन्ने आशा व्यक्त गरे । साथै उनले बाह्य तथा आन्तरिक पर्यटकलाई भित्राउन सके आर्थिक लाभ लिन सकिने पनि जिकिर गरे । साथै उनले जेसिजले वृक्षारोपण गरेर राम्रो कार्य गरेकोमा प्रंसशा समेत व्यक्त गरे । 

त्यस्तै नवदुर्गा सामुदायिक वनका अध्यक्ष ईश्वरी पाण्डेले वृक्षारोपणले जलवायु परिवर्तनको विश्वव्यापी असर कम गर्न सकारात्मक सन्देश दिने बताइन् । त्यस्तै उनले हजारौँ वर्षदेखि वृक्षारोपण कार्यले वातावरण सन्तुलन, खाद्यान्न आपूर्ति, दैनिक जीविकोपार्जनलगायतका आवश्यकता पुरा गर्दै आएको बताइन् । यद्यपी पछिल्लो समय वृक्षारोपण गरेता पनि यसको स्याहारसुसार भने हुन नसकेको उनको भनाइ थियो । वृक्षारोपणको सुरुवात मानव सभ्यताको प्रारम्भदेखि नै भएतापनि औद्योगिक वृक्षारोपणको सुरुवात दोस्रो विश्वयुद्ध पश्चात् भएको पाइन्छ । नेपालको कुल भूभागको ४०.३६ प्रतिशत वन क्षेत्र र ४.३८ प्रतिशत भूभाग अन्य काष्ठ तथा बुट्यान क्षेत्र गरी कुल ६६ लाख हेक्टर वन र बुट्यान क्षेत्रले ढाकेको छ भने बाँकी भ–ूभाग कृषि, बसोबास क्षेत्र र नदी क्षेत्रले ढाकेको छ ।

त्यस्तै सो कार्यक्रममा नवदुर्गा ग्रीन पार्कका अध्यक्ष जयबहादुर घर्ती, जेसिज पूर्वअध्यक्ष नेत्रलाल भट्टराई नारायण, निवर्तमान अध्यक्ष शालिकराम ओली, तुलसीपुरनगर जेसिज अक्षयकोषदाता पदम पोखरेल लगायतको उपस्थितीमा वृक्षारोपण कार्यक्रम भएको थियो । 

कार्यक्रम संयोजक मेघराज पोखरेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जेसिज आस्थापाठ मधुसुदन गौतमले गरेका थिए भने  कार्यक्रमको सहजिकरण महासचिव कमल प्रकाश शर्माले गरेका थिए । सो अवसरमा अशोक, निम, धुपी, सल्ला, विभिन्न जातका फुलहरु, गुल्मोहर आदि गरी करिब ६० बोट बिरुवा रोपिएको थियो ।

प्रकाशित मिति : २०८१ जेष्ठ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस