२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

आज खिन खाने दिन

काठमाडौ, १५ साउन । आज साउन १५, खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ ।

साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने चलन छ । दूधमा मरमसला लगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । दूधबाट बनेको खीरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने बताइन्छ ।

असार–साउन मासको धान रोपाइँमा हिलोमा काम गर्दा चिसोले गर्ने असर कम गर्न मध्य साउनमा खीर खाने परम्परा बसेको बूढापाकाको भनाइ छ ।

संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहार मध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रूपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा.डा. देवमणि भट्टराई बताउँछन् ।

नेपाली समाजमा असार १५ गते दही च्यूरा, साउन १५ मा खीर, भदौ १५ मा पोलेको मकै, पुस १५ मा घिउमा तयार गरेको खट्टे, माघ १५ मा मालपुवा लगायत चीजबीज बनाएर खाने चलन छ ।

प्रकाशित मिति : २०८१ साउन १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस