काठमाडौ, १५ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आमनागरिकको कुरा सुन्न आफू देशव्यापी भ्रमणमा जाने बताएका छन । पार्टी पदाधिकारी बैठकमा नेताहरूले राखेको प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्डले नागरिकसँग टुटेको सम्बन्ध जोड्न र पछिल्लो पटक सरकारको नेतृत्व गर्दा गरेका राम्रा कामको प्रचार गर्न आफू देशभर पुग्ने बताएका हुन । नागरिकको सुखदुःखका कुरा सुनेपछि पार्टीको रणनीति तय गर्ने उनको भनाइ छ ।
यसैगरी पदाधिकारी बैठकले प्रमुख प्रतिपक्षको भूमिकालाई सशक्त बनाउने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । उनले पाँच दिनदेखिको छलफलमा गम्भीर रूपमा छलफल भएको बताएका हुन । सापकोटाले बृहत् वामपन्थी एकीकरणलाई संयुक्त मोर्चाबाट विस्तार गर्दै जाने र कम्युनिस्ट पार्टीको पुनर्गठन निश्चित गर्ने पनि उल्लेख गरे ।
प्रकाशित मिति : २०८१ साउन १५ गते मङ्गलवार