२०८१ असोज २० गते आइतवार | 2024 October 6th Sunday

हेलिकप्टर दुर्घटनाका निधन भएकाहरुको पोष्टमार्टम शुरू

काठमाडौ, २४ साउन । एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेर  निधन भएकाहरुको पोष्टमार्टम शुरू भएको छ । सुरक्षा टोलीले संकलन गरेर बुधबार त्रिवि शिक्षण अस्पताल पुर्‍याएको शवको पोष्टमार्टम थालेको अस्पतालका फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीले जानकारी दिए। पोष्टमार्टम बिहीबार नै सक्ने प्रयास हुने उनले बताए । ‘तर शव धेरै जलेको र चिनिन सक्ने अवस्थामा नभएका कारण समय पनि लाग्न सक्छ’, उनले भने ।

मृतकको उचाइ, तौल, शरीरमा भएको दाग वा ट्याटुका आधारमा शव पहिचान गरिन्छ । तर यसरी पत्ता नलागेमा औँठाछाप, दाँत र डीएनएबाट परीक्षण गरिन्छ । ‘शव अत्यधिक जलेको भए ‘डीएनए टेष्ट’ पनि गर्नुपर्ने हुनसक्छ’ चौधरीले भने, ‘त्यसो भएमा तत्काल शव दिन गाह्रो हुन्छ ।’

बुधबार दिउँसो काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर ३ मिनेटमै नुवाकोटको शिवपुरी सूर्यचौर क्षेत्रमा दुर्घटना भएको थियो । दुर्घटनामा परी पाइलट अरुण मल्लसहित पाँचजनाको मृत्यु भएको छ, जसमध्ये चार चिनिया नागरिक हुन् ।

प्रकाशित मिति : २०८१ साउन २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस