काठमाडौ, ६ असोज । काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले उनलाई आज समेत ३ दिन हिरासतमा राख्न अनुमति दिएको जानकारी दिएको छ । प्रहरीले आज प्रसाईंलाई उनको निवासबाटै नियन्त्रणमा लिएको थियो । साइबर अपराधको मुद्दामा प्रहरीले उनलाई आइतबार दिउँसो निवास भक्तपुरबाटै पक्राउ गरेको हो ।
यसैगरी प्रहरीले प्रसाईंका समर्थकलाई पनि पक्राउ गरेको छ । प्रसाईंका २ जना समर्थक झापाबाट र ५ जनालाई काठमाडौँबाट नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । प्रसाईंविरुद्ध साइबर ब्युरोमा परेको उजुरीका आधारमा प्रहरीले गतसाता नै जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी लिएको थियो ।
प्रसाईंविरुद्ध विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने, वेश्यावृत्ति गरेको आरोप लगाउने तथा आपत्तिजनक अभिव्यक्ति दिने गरेको भन्दै रास्वपाकी केन्द्रीय सदस्य टीका संग्रौलालगायत पीडित महिलाले साइबर ब्युरोमा उजुरी दिएका थिए ।