२०८१ असोज २३ गते बुधवार | 2024 October 9th Wednesday

भोलिदेखि ४ दिन देशभर वर्षा हुने

दाङ, ९ असोज । नेपालमा भोलिदेखि चार दिन लगातार  मौसम बदली भई ठाउँठाउँमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज फेरि विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । महाशाखाले वर्षाले ५६ जिल्ला रेड जोन (उच्च जोखिम)मा रहेको जनाएको छ । वर्षा हुने प्रणाली नै लम्बिएको छ ।

बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा साथै त्यस क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण भोलि दिउँसोदेखि असोज १३ गते आइतवारसम्म देशभर साधारणतयादेखि पूर्णतया बदली रही अधिकांश स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित वर्षा हुने भएको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै देशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको जनाइएको छ । साथै गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा कोशी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको जनाइएको छ ।

प्रकाशित मिति : २०८१ असोज ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस