२०८१ माघ ११ गते शुक्रवार | 2025 January 24th Friday

बाढीपहिरोकोबाट १९२ जनाको ज्यान गयो

दाङ, १४ असोज । गत बिहीवार र शुक्रबारको अविरल वर्षाले निम्त्याएको प्रकोपबाट ज्यान गुमाउनेको संख्या १ सय ९२ पुगेको छ । विपद्मा परेर कम्तीमा ३१ जना बेपत्ता छन् । बाढीपहिरोमा परेका ३७ सय ५ जनाको उद्धार गरिएको छ। गृहमन्त्रालयको आज बिहानसम्मको  विवरणअनुसार विपद्मा परी सबैभन्दा बढी काभ्रेपलान्चोकमा ५० जनाले ज्यान गुमाएका छन् । अझै १० जना बेपत्ता रहेका छन् । धादिङमा ३९ जनाले ज्यान गुमाएका छन् । ललितपुरमा ३३, काठमाडौंमा १७, सिन्धुपाल्चोकमा १०,  मकवानपुर र दोलखामा ७/७ जनाको मृत्यु भएको छ ।

भक्तपुर, पाँचथर र सोलुखुम्बुमा ५/५, झापा, धनकुटा, महोत्तरी, सिन्धुली र रौतहटमा २/२ तथा सप्तरी, उदयपुर, रामेछाप र इलाममा १/१ जनाको मृत्यु भएको छ । पहिरोमा परी  प्रमुख सेनानी (कर्णेल) मिलन केसीको पनि ज्यान गएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेंसी–९, झ्याप्ले खोला खण्डमा मात्र पहिरोले बस र माइक्रोबस पुर्दा ३५ जनाको मृत्यु भएको छ । घाइते भएका ९६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

बाढीपहिरो र डुबान/कटानका कारण विभिन्न जिल्लामा रहेका १४ वटा पक्की र झोलुंगे पुल बगेका छन् । ३ हजार २ सय ९९ घर र १८ गोठ क्षतिग्रस्त भएका छन् । बाढीपहिरोमा २ सय ७२ वटा पशु/चौपाया मरेका छन् । काठमाडौं उपत्यकामा मात्र बाढीपहिरोले ३ सय २२ घरमा क्षति पुगेको छ । २९ वटा प्रहरी कार्यालय, ६ वटा अन्य सरकारी कार्यालय र विभिन्न राजमार्ग ७५ स्थानमा भत्किएको गृहको तथ्यांक छ ।

प्रकाशित मिति : २०८१ असोज १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस