२०८१ माघ ११ गते शुक्रवार | 2025 January 24th Friday

आजबाट ईडीभी खुला हुँदै

दाङ, १६ असोज । सन् २०२६ को अमेरिकी डाइभर्सिटी भिसा (डीभी) आजबाट खुला हुँदै छ । काठमाडौँस्थित अमेरिकी दूतावासका अनुसार नेपाली समयानुसार आज राति ९ः४५ बजेबाट डीभीका लागि आवेदन दिन सकिनेछ । आवेदकहरूले दर्ता अवधिमा आधिकारिक वेबसाइट गएर डीभी आवेदन फाराम भर्न सक्नेछन् । डीभीको म्याद आगामी कात्तिक २० गते राति १०ः४५ बजेसम्म रहने दूतावासले जनाएको छ । डीभी कार्यक्रममा सहभागी हुन कुनै शुल्क नलाग्ने दूतावासले स्पष्ट पारेको छ ।

आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्न दूतावासले आग्रह गरेको छ । आवेदन दर्ता गर्दा आवेदकको पति–पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई अनिवार्य सूचीकृत गर्नुपर्ने दूतावासले जनाएको छ ।

उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य हुने विज्ञप्तिमा उल्लेख छ । एकजना व्यक्तिले डीभीका लागि एउटा मात्र आवेदन दिन पाउनेछन् । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिनेछन् । डीभीका लागि फारम अनलाइन भर्नुपर्नेछ ।

फोटो खिच्दा आवेदकहरूले चस्मा लगाउन नहुने पनि दूतावासले बताएको छ । अघिल्लो वर्षको डीभी आवेदनमा प्रयोग गरिएको फोटो यो वर्षको आवेदनमा प्रयोग गरेमा अयोग्य ठहरिने दूतावासले जनाएको छ । यो वर्ष डिभी आवेदन भर्दा राहदानी अनिवार्य गरिएको छैन । दूतावासले डीभी आवेदन भरेपछि आफ्नो कन्फर्मेशन नम्बरलाई सुरक्षित राख्न र कसैलाई पनि नदिन आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८१ असोज १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस