
दाङ, १ मंसिर । दाङको तुलसीपुरमा आइतबार देखि सुरु हुने हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०८१ को तयारी पूरा भएको छ । प्रतियोगिताको आयोजक हिरा डाँगी फाउन्डेसन तुलसीपुरले शनिवार पत्रकार सम्मेलनको आयोजना गरि अरनिको खेलमैदान तुलसीपुरमा दिउँसो साढे एक बजे उद्घाटन हुने प्रतियोगिताको सम्पूर्ण तयारी कार्य पूरा भएको जानकारी दिइएको हो । प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेश सभाका प्रमुख माननीय कृष्ण बहादुर घर्तिले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
उद्घाटन खेलमा स्काई फुटबल क्लब सुर्खेत र साबिक विजेता राइजिङ स्टार फुटबल क्लब घोराही भिड्नेछन् । फाउन्डेसनका अध्यक्ष पोखर सिह डाँगीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रतियोगिताको उद्घाटन समारोह, खेलमैदान, खेल तालिका सार्वजनिक, आतिथ्य सत्कार , व्यवस्थापन, आर्थिक व्यवस्थापन, आवास, हेल्प डेक्स स्थापना, प्रत्यक्ष प्रसारण ,प्रचारप्रसार, सुरक्षा व्यवस्थापन लगायतका सबै तयारी पूरा भएको प्रतियोगिता मूल आयोजक समितिका संयोजक प्रीति बहादुर गिरि प्रेसले जानकारी दिए ।
मञ्च कार्तिक ८ गते सम्म सञ्चालन हुने प्रतियोगिताको उपाधि चुम्ने टिमले नगद २ लाख २ हजार २ सय नगद पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद १ लाख १ हजार १ सय कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यसैगरी प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रर्दशन गर्ने व्यक्तिगत विधा तर्फका खेलाडी लाई जनही ५ हजारका दरले नगद पुरस्कार तथा ट्रफी प्रदान गरिनेछ, भने प्रत्येक म्याचको म्यान अफ द म्याच हुने खेलाडी लाई नगद १५ सय तथा ट्रफी प्रदान गरिने संयोजक गिरिले जानकारी दिए ।
प्रतियोगितामा राइजिङ स्टार घोराही, युएनबिसी घोराही, इनोभेटिभ ज्ञानज्योति, टरिगाउँ युवा क्लब तुलसीपुर, छिमेकी राष्ट्र लखनउ भारतको शाहारा फुटबल क्लब, स्काई फुटबल क्लब सुर्खेत, बिर्गेड ब्वाइज ललितपुर र कपिलवस्तु ११ गरि ८ टिमको सहभागिता रहेको छ । यसैबीच भोलि हुने प्रतियोगिताको उद्घाटन समारोहमा गरिमामय उपस्थितिका लागि खेलप्रेमी, खेलाडी, सहयोगीदाता, पत्रकार, शुभचिन्तक, संघ र संस्था लगायत सबैमा हार्दिक अनुरोध गरेको छ ।