
दाङ, ९ मंसिर । ब्रिगेड ब्वाइज क्लब ललितपुरलाई हराउँदै चौथो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबलको उपाधि टरिगाउँ युथ क्लब, तुलसीपुरले जितेको छ । शनिबार तुलसीपुरको अरनिको मैदानमा भएको फाइनलमा ब्रिगेड ब्वाइज क्लब, ललितपुरलाई २– १ गोलअन्तरले पराजित गर्दै टरिगाउँ युथ क्लबले उपाधि जितेको हो । खेलमा सुरुवाती अग्रता पनि टरिगाउँले लिएको थियो ।
पहिलो हाफमा टरिगाउँका गणेश हमालले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, ब्रिगेड ब्वाइज क्लबका एन्जल महर्जनले गोल गर्दै खेल ११ गोलको बराबरीमा ल्याएका थिए । दोस्रो हाफमा टरिगाउँका लागि राज भुसालले गोल गर्दै उपाधि दिलाएका हुन् । उपाधिसँगै टरिगाउँ युथ क्लबले २ लाख २ हजार २ सय रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
उपविजेतामा सीमित ब्रिगेड ब्वाइज क्लबले भने १ लाख १ हजार १ सय रुपैयाँ, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।हिरा डाँगी फाउन्डेसन तुलसीपुरको आयोजनामा भएको प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने वेस्ट प्लेयर ब्रिगेड ब्वाइजका रितेश गुरुङ, सर्वाधिक गोलकर्ता युनएनबीसीका हेनरी र राइजिङ स्टारका अरुण चौधरी र वेष्ट किपर टरिगाउँ युवा क्लबका विशाल केसीलाई जनही पाँच / पाँच हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको थियो ।
प्रतियोगितामा राइजिङ स्टार घोराही, युएनबिसी घोराही, इनोभेटिभ ज्ञानज्योति, टरिगाउँ युवा क्लब तुलसीपुर, छिमेकी राष्ट्र लखनउ भारतको साराहा फुटबल क्लब, स्काइ फुटबल क्लब सुर्खेत, बिर्गेड ब्वाइज ललितपुर र कपिलवस्तु ११ सहभागी भएका थिए ।