२०८३ असोज २२ गते बिहिवार | 2026 October 8th Thursday

लुम्बिनीमा दृष्टिविहीनताको दर कर्णालीभन्दा दोब्बर

दाङ, २२ असोज । लुम्बिनी प्रदेशमा दृष्टिविहीनताको अवस्था कर्णाली प्रदेशको तुलनामा झण्डै दोब्बर रहेको तथ्यांक सार्वजनिक भएको छ । आँखा स्वास्थ्य सेवाको पहुँच, उपचारमा हुने ढिलाइ र आर्थिक तथा भौगोलिक समस्याका कारण दृष्टि गुमाउने अवस्था अझै चुनौतीपूर्ण रहेको सरोकारवालाहरूले बताएका छन् । विश्व दृष्टि दिवसका अवसरमा बिहीबार नेपाल नेत्रज्योति संघ राप्ती आँखा अस्पताल, रक्षाचौर तुलसीपुरमा आयोजित ‘आँखा स्वास्थ्य सेवामा पहुँच विस्तारमा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो ।

अस्पतालका वरिष्ठ अनुगमन तथा मूल्यांकन अधिकृत शालिकराम गौतमले प्रस्तुत गर्नुभएको तथ्यांकअनुसार लुम्बिनी प्रदेशमा दृष्टिविहीनताको दर १.७५ प्रतिशत रहेको छ भने कर्णाली प्रदेशमा ०.९१ प्रतिशत रहेको छ । तथ्यांकले लुम्बिनीमा दृष्टिविहीनताको अवस्था तुलनात्मक रूपमा गम्भीर रहेको देखाएको भन्दै यहाँ आँखा स्वास्थ्य र दृष्टि संरक्षणका कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्नेमा कार्यक्रममा जोड दिइएको थियो ।

प्रस्तुत तथ्यांकअनुसार दृष्टिविहीनताको अवस्थामा पुग्नुका विभिन्न कारणमध्ये ४१ प्रतिशतले आँखाको समस्या बेवास्ता गरेको, २० प्रतिशत दुर्गम क्षेत्रमा बसोबास गर्ने, ३६ प्रतिशत आर्थिक समस्याका कारण उपचारबाट प्रभावित भएको र ३ प्रतिशत अन्य कारण रहेको जनाइएको छ ।

सरोकारवालाहरूले आँखाका धेरैजसो समस्या समयमै पहिचान र उपचार गर्न सके दृष्टिविहीनताको अवस्था न्यूनीकरण गर्न सकिने बताएका छन् । त्यसका लागि नागरिकलाई नियमित आँखा परीक्षण, रोगको समयमै पहिचान र उपचारका विषयमा सचेत गराउनुका साथै राज्यका सम्बन्धित निकायलाई समेत जवाफदेही बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने उनीहरूको भनाइ थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल नेत्रज्योति संघ दाङका अध्यक्ष कृष्णकुमार गिरीले ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकसम्म आँखा स्वास्थ्य सेवा पु¥याउन स्थानीय सरकार, स्वास्थ्य संस्था, गैरसरकारी संस्था र सञ्चारमाध्यमबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताउनुभयो ।

स्थानीय सरकारसँग प्रभावकारी समन्वय हुँदै आए पनि संघीय सरकारले संविधानको धारा ३५ ले सुनिश्चित गरेको स्वास्थ्यसम्बन्धी अधिकारअनुसार आँखा रोगीका लागि पर्याप्त ध्यान दिन नसकेको उहाँले गुनासो गर्नुभयो । प्रदेश सरकारको समेत आँखा अस्पतालका बिरामीलाई लक्षित योजना तथा बजेटको अवस्था कमजोर रहेको उहाँको भनाइ थियो ।

गिरीले आँखासम्बन्धी समस्या भएका नागरिकले समयमै उपचार पाउने वातावरण बनाउन तीनै तहका सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले आँखा स्वास्थ्यसम्बन्धी तथ्यांक, उपलब्ध उपचार सेवा र नागरिकले पाउने सुविधाबारे नियमित रूपमा सूचना प्रवाह गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरूले आँखा जाँच तथा उपचारको पहुँचबाट वञ्चित समुदायका समस्या उजागर गर्ने, निःशुल्क तथा सहुलियतपूर्ण उपचार सेवाबारे जानकारी दिने र सेवा विस्तारका लागि सम्बन्धित निकायलाई जवाफदेही बनाउने भूमिका सञ्चारमाध्यमले निर्वाह गर्न सक्ने बताएका थिए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष सन्तोष सुवेदीसहित उपाध्यक्ष ओपेन्द्र बस्नेत, पत्रकार सुशील बस्नेत, नारायण खड्का, नारायणी रजौरे, अमर क्षितिज भण्डारी, दीपक बोहोरा, खेमराज रिजाल, उमा भण्डारी, जेएन सागर र शरद रेग्मीलगायतले आँखा स्वास्थ्यसम्बन्धी विषयलाई समाचार, रेडियो कार्यक्रम, टेलिभिजन, अनलाइन तथा सामाजिक सञ्जालमार्फत समुदायसम्म पु¥याउन सके समयमै उपचार गर्ने व्यवहारको विकास गर्न सकिने धारणा राखेका थिए ।

राप्ती आँखा अस्पतालका कार्यकारी निर्देशक धर्मराज गोसाई र सहायक प्राध्यापक डा. रञ्जीत साहले आँखामा समस्या देखिएपछि मात्रै उपचार गर्नेभन्दा नियमित रूपमा आँखा परीक्षण गर्ने, रोगको समयमै पहिचान गर्ने र आवश्यक उपचार गराउने संस्कार विकास गर्नुपर्नेमा जोड दिए ।

नेपाल नेत्रज्योति संघका सदस्य ध्रुवराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ प्रशासन अधिकृत जसराज बी.क.ले स्वागत मन्तव्य व्यक्त गरेका थिए, भने कार्यक्रमको सञ्चालन सञ्चार अधिकृत बालाराम खड्काले गरेका थिए । विश्व दृष्टि दिवस प्रत्येक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबार मनाइन्छ । दिवसले आँखाको स्वास्थ्य, दृष्टि गुम्ने समस्या तथा दृष्टि संरक्षणका उपायबारे विश्वव्यापी रूपमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राख्छ ।

प्रकाशित मिति : २०८३ असोज २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस