दाङ, १० मंसिर । तुलसीपुरस्थित अरनिको मैदानमा खुला पुरुष कबड्डी प्रतियोगिता खसी कप सुरु भएको छ ।
युथ स्पोट्स एकाडेमी तुलसीपुरको आयोजनामा खुला पुरुष कबड्डी प्रतियोगिता खसी कप सुरु भएको हो । युथ स्पोट्स एकाडेमी तुलसीपुरका अध्यक्ष सुजन थापाको अध्यक्षता तथा फेलोसिप ट्रेनिङ सेन्टरका सञ्चालक राजु यरीको प्रमुख आतिथ्यमा भएको प्रतियोगिताको उद्घाटन भएको हो । प्रतियोगिता मंगलबारसम्म संचालन हुनेछ ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि यरीले खेलकुद क्षेत्रलाई माथि उठाउन युवाहरु नै लाग्नु पर्ने बताएका छन । उनले जुनसुकै खेलकुदको प्रतियोगिता सुरु गर्दा खेल क्षेत्रका व्यक्ति तथा खेल क्षेत्रसँग सम्वन्धित संघ संस्थामा आवद्ध भएकाहरुलाई पहिलो प्राथमिकतामा राखेर खेलकुद्को कार्यक्रम उद्घाटन गर्नु पर्ने बताएका छन ।
त्यसैगरी तुलसीपुर वडा नम्बर ४ का वडाध्यक्ष तुल्सी थापाले खेलाडीहरूको मर्म अनुसार खेल सम्पन्न गर्न आग्रह गरेका छन । प्रतियोगितामा प्रथम स्थान हाँसिल टिमले खसी, कप, र मेडल प्राप्त गर्ने छ भने दोस्रो स्थान हाँसिल गर्ने टिमले भाले, कप र मेडल प्राप्त गर्ने सचिव भानु घर्तीले जानकारी दिएका हुन । सुर्खेतमा हुने दशौं राष्ट्रिय खुला कबड्डी प्रतियोगितालाई लाक्षित गरी तुलसीपुरमा कबड्डी प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।
उक्त प्रतियोगितामा ८ वटा टिमले दर्ता गरेको एकाडमीका सचिव घर्तीले जानकारी दिएका छन । उनका अनुसार द फोर्स ट्रेनिङ सेन्टर, तुलसीपुर वडा नम्बर ४, अल्फा घोराही, कालखोला मावि, युवा स्पोर्टस् क्लब बबई ३, ग्रेट अरनिको टिम ए, ग्रेट अरनिको टिम बि र राप्ती बबई क्याम्पस तुलसीपुरको टिम रहेका छन् । केबि वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन संचारकर्मी एचआर मगरले गरेका थिए ।