काठमाडौ, १५ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ शक्ति र अनुहार लोकतन्त्रका कोपिला भएकाले उनीहरुलाई फूल्न दिनुपर्ने बताएका छन । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो आग्रह गरेका हुन ।
‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानप्रदत्त अधिकार प्रयोग गरी नयाँ नयाँ अनुहारहरु राजनीतिक मञ्चमा उदाइरहेका छन् । जनताको अभिमत लिएर आएका नयाँ अनुहारलाई मैले लोकतन्त्ररुपी बगैंचामा फूलेका सुन्दर फूल भन्दै आएको छु’– अध्यक्ष प्रचण्डले भने– ‘लोकतान्त्रिक प्रक्रिया अवलम्बन गर्दै पुराना भनिनेहरुको कमजोरीको जगमा जन्मेका नयाँ शक्ति र अनुहारलाई सरापेर हैन, आफ्ना कमजोरीलाई स्वीकार गरेर मात्र पुरानाहरुले आफूलाई रुपान्तरण गर्न संभव छ।’
बगैंचामा फक्रिरहेका कोपिलालाई निमोठेर हैन, फूल्न दिएर मात्रै त्यसको सही पहिचान हुने उल्लेख गर्दै उनले भने – ‘सही र गलतको पहिचान जनताले गर्छन, शासकको डण्डाले हैन। यही प्रक्रियाले मात्रै हामीले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्न सकिन्छ भन्ने मेरो विश्वास छ।’