२०८१ माघ ११ गते शुक्रवार | 2025 January 24th Friday

खेलकुद विश्वविद्यालय आवश्यक छ : नैनसिंह महर

काठमाडौ, २२ पुष । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेपालमा खेलकुद विश्वविद्यालय स्थापना अति आवश्यक रहेको बताएका छन् । पोखरास्थित पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसको क्रिकेट टीमले आयोजना गरेको डब्लूआरसी प्रियम लिगको उद्घाटन सत्रलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै महरले उक्त कुरा बताएका हुन् ।

‘खेलाडी, खेल प्रशिक्षक, कोचलगायतका दक्ष जनशक्ति उत्पादन गर्न सरकारले खेलकुद विश्वविद्यालय यथासिघ्र स्थापना गर्नुपर्छ । सरकारले अध्ययन कार्यदल त गठन गरेको छ। त्यसले मात्र पुग्दैन,’ उनले भने । आफूले नेपाल विद्यार्थी संघ (नेविसंघ) अध्यक्ष हुँदादेखि नै उक्त माग उठाइरहेको महरको धारणा छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको सफलताले नेपाललाई क्रिकेटको स्वर्णिम युगमा धकेलेको उनले बताए । नेपालमा पर्याप्त पूर्वाधार र बजेट अभावमा पनि एनपीएल जस्तो लिग सफलतापूर्वक सम्पन्न हुनु ठूलो कुरा भएको उनको भनाइ छ ।

‘यस्ता लिग केन्द्रमा मात्र नभएर देशका कुना कन्दरामा पनि आयोजना गरिनुपर्छ । लिगबाट उत्पादित जनशक्तिले नेपाली राष्ट्रिय टिम र देशलाई नै योगदान पुग्छ । देशलाई विश्वसामू चिनाउने उपयुक्त माध्यम पनि खेल क्षेत्र हो । त्यसैले खेलका लागि आवश्यक पूर्वाधार निर्माण र बजेट विनियोजनमा सरकार उदार हुनुपर्छ,’ उनले भने ।

रंगशाला निर्माणका लागि सरकारलाई आवश्यक योजनाका साथ काम गर्न उनको सुझाव छ । ‘बजेटको अभावमा मुलुकको खेलकुद क्षेत्रको विकास हुन सकेको छैन । शिक्षा, स्वास्थ्य र खेलकुदमा सरकारले आवश्यक बजेट विनियोजन गर्नुपर्छ । प्रतिभाशाली खेलाडीलाई प्राथमिकता दिएर अघि बढे मुलुकले खेलकुदक्षेत्रमा फड्को मार्न सक्छ,’ उनले भने ।

खेलकुद क्षेत्र मानिसको फिजिकल मात्र नभइ देशको अर्थतन्त्रको मेरुदण्डसमेत भएको उनले बताए । खेलले मानिसलाई अनुशासित बनाउने महरको धारणा छ । ‘राजनीतिमा पनि निष्पक्षताको ग्यारेन्टि हुनुपर्छ । त्यो शिक्षा खेलबाट लिन सकिन्छ । खेल मानिसलाई अनुशासित बनाउने विशाल क्षेत्र हो,’ उनले भने । पोखरा पर्यटकीय राजधानी भएको र यहाँ खेल आयोजना हुँदा देश, विदेशमा यसको महत्त्व थप बढेर जाने महरले बताए ।

यसका साथै महरले इन्जिनियरिङ क्षेत्रका विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरका क्रिकेट लिग अवलोकनका लागि पठाउनुपर्ने बताएका छन् । ‘खेलको गुणस्तर सुधार्न प्रविधिको भूमिका महत्त्वपूर्ण हुन्छ । यसमा नेपाली इन्जिनियरले ठूलो योगदान दिन सक्छन् । क्रिकेटरको प्रदर्शन सुधार गर्न डेटा प्रविधिको प्रयोग गर्न सकिन्छ । खेलाडीको रन, स्ट्राइक र बलिङको गति जस्ता तथ्यांकलाई विश्लेषण गरेर उनीहरूको क्षमता वृद्धि गर्न सकिन्छ,’ उनले भने । 

एआइको प्रयोग गरेर खेलाडीको कमजोरी पहिचान गरी सुधार गर्न प्रशिक्षण प्रदान गर्न सकिने र त्यो कुरा इन्जिनियरिङ क्षेत्रका विद्यार्थीबाट सम्भव भएको उनको भनाइ छ । क्रिकेट व्यवस्थापन प्रणालीलाई सुरक्षित राख्न नेपाली इन्जिनियरले साइबर सुरक्षा समाधान विकास गर्न सक्ने महरले औंल्याए । 

‘म्याच फिक्सिङ रोक्न र खेलसँग सम्बन्धित डाटालाई सुरक्षित राख्न प्रविधिको प्रयोग गर्न सकिन्छ । विद्यालय र ग्रामीण क्षेत्रका खेलाडीको प्रशिक्षणका लागि सस्तो तथा प्रभावकारी उपकरण विकास गर्न सकिन्छ । स्थानीय ग्राउन्डमा स्मार्ट कोचिङ टुलको प्रयोगले नयाँ प्रतिभाको पहिचान सम्भव छ,’ महरले भने, ‘क्रिकेटलाई विश्वस्तरमा पुर्‍याउन प्रविधिको प्रयोग अपरिहार्य छ । हाम्रै इन्जिनियरले निर्माण गर्ने समाधानले यो यात्रा अझ प्रभावकारी हुनेछ ।’ त्यसैले नेपाली इन्जिनियरलाई अवलोकनका लागि विदेशी लिगमा पठाउनुपर्ने र त्यहाँबाट प्राप्त ज्ञान उनीहरूले नेपालमा सदुपयोग गर्न सक्ने महरको विश्वास छ ।

प्रकाशित मिति : २०८१ पुष २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस