२०८३ बैशाख ८ गते मङ्गलवार | 2026 April 21st Tuesday

दाङको तुलसीपुरमा रैथाने खाना महोत्सव

दाङ, २८ पुष । तुलसीपुरमा आइतबार एक दिने  रैथाने खाना महोत्सवको आयोजना गरिएको थियो । तुलसीपुर होटल व्यवसायी समितिको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको समन्वयमा तुलसीपुर ७ मा रहेको राप्ती शान्ति उद्यान गणेशपुर पार्कमा महोत्सव भएको थियो । उक्त महोत्सवमा जानु भएका तुलसीपुर उद्योग वाणिज्य सङ्घका  संस्थापक अध्यक्ष डिल्ली बहादुर बस्नेतले यो कार्यक्रमले पौराणिक रीतिथिति तथा संस्कारहरूमा प्रर्वद्धन गर्नको लागि मदत गर्ने बताए । उनले यहाँ आज प्रर्दशनी गरेका रैथाने खानाहरू निकै मिठो र स्वास्थ्यका लागि पनि फाइदा जनक भएको भन्दै यसलाई बचाउन जरुरी रहेको बताए ।

उनले भने,‘ पछिल्लो समय नेपालीहरूको खाना भन्दा विदेश खाना धेरै खाने चलन रहेको छ । जुन खाना  स्वास्थ्यका लागि पनि फाइदा जनक छैन्,  तर, हाम्रो संस्कार भित्र पर्ने मात्र नभइ स्वास्थ्यको लागि फाइदा हुने खाना हराउँदै गइरहेको छ । यस्ता कार्यक्रमले ति दानाहरूलाई प्रवर्द्धन गर्नमा निकै टेवा पुग्छ ।’ यस्तै उनले यस्तो खाना  महोत्सवले पनि पर्यटन प्रर्वद्धनमा फाइदा  हुने पनि बताए । उनले एक दिन महोत्सवमा मात्र नभइ तुलसीपुरका बजारका होटलहरूमा यो खानाहरू पाइनु पर्ने समेत बताए । उनले भने,‘ दाङको तुलसीपुरमा कुनै पर्यटकहरू आए के खाने ? भन्दा यहाँको रैथाने खाना खुवाउन सक्नु पर्छ । अनि मात्र यो खानाको प्रचार प्रसार हुन्छ । यसमा सबै भन्दा बढि होटल व्यवसायी ध्यान दिनु पर्छ ।’

महोत्सवमा परम्परागत रैथाने खानाका परिकारको प्रदर्शन गरिएको छ । महोत्सवमा कोदोको ढिँडो, लोकल कुखुराको मासु, जौको सातु, घोगी, गङ्गटा लगायतको परिकार प्रदर्शनी गरिएका थियो,  भने विभिन्न लोपउन्मुख नाचहरू प्रदर्शन गरिएको छ । लहरे नाच, थारू समुदायको नाच पनि प्रस्तुत गरिएको छ ।   होटल व्यवसायी समितिका केन्द्रीय सदस्य नेत्रलाल वलीले रैथाने खानाको प्रचारप्रसारसँगै होटलका मेनुमा पनि रैथाने खाना राख्न सकिने बताए ।  उनका  अनुसार २ वर्ष अगाडि यस्तो कार्यक्रमको योजना बनाएर तुलसीपुर समितिले रैथाने खाना महोत्सव गर्दै आइरहेको छ ।  

उनले भने,‘ गत वर्ष पनि हामीले यो कार्यक्रम तुलसीपुरमा आयोजना गरेका थियौँ । यस पटक तुलसीपुर ७ को गणेशपुर पार्कमा आयोजना गरेका हौँ । यो कार्यक्रम हामीले निरन्तर रुपमा गर्दै जाने योजना बनाएका छौँ ।’समितिका अध्यक्ष इन्द्र बहादुर बस्नेतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । समितिका उपाध्यक्ष दोर्ण आचार्यको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण प्रेमप्रकाश मल्लले गरेका थिए । 

प्रकाशित मिति : २०८१ पुष २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस