
दाङ, २८ पुष । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले सामुदायिक विद्यालयका शिक्षकले अङ्ग्रेजी माध्यममा पढाउन तयार हुनु पर्ने बताए । तुलसीपुरमा तुलसीपुर उपमहानगरपालिकाको सहयोग र समन्वयमा तुलसीपुर–१ भ्यूडहर सुनपुरमा रहेको बिरेन्द्र माध्यमिक विद्यालयले तुलसीपुर वृहत सिकाइ मेलाको उद्घाटन गर्दै उनले यस्तो बताए । उनले विश्व बजारमा प्रतिष्पर्धा गर्ने जनशक्ति उत्पादन गर्न र संस्थागत विद्यालयसँग प्रतिष्पर्धा गर्नका लागि अब सामुदायिक विद्यालयले अङ्ग्रेजी माध्यमबाट पढाउनुपर्ने बताए ।
उनले विद्यार्थी विदेश पलायन भइरहेको बारे चिन्ता व्यक्त गर्दै स्वदेशमै पनि धेरै सम्भावना भएकाले अध्ययनका लागि विदेश गएपनि स्वदेशमा फर्किनुपर्नेमा समेत बताए । यस्तै तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक मान बहादुर रावतले आमाबुवाको योगदान भुल्ने संस्कारको अन्त्य हुनुपर्ने बताए । उनले छोराछोरीको भविष्यका लागि बुबाआमाले ठुलो योगदान गर्ने हुँदा छोराछोरी बुवाआमाको सहारा बन्नुपर्ने बताए । यस्तै प्रमुख वक्ताको रुपमा आएका वरिष्ठ पत्रकार टिकाराम यात्रीले प्रविधिको सही सदुपयोग गरेमा ज्ञान हासिल गर्न सकिने बताए । उनले जस्तो क्लिक गर्यो, त्यस्तै सामग्री दिने गरेकाले गलत कुरा कहिले पनि क्लिक गर्न नहुने बताए ।
मेलामा तुलसीपुरमा रहेका सामुदायिक र संस्थागत विद्यालयबाट सहभागिता रहेको थियो । सहभागी विद्यार्थीले विभिन्न सामग्री प्रदर्शन गरेका थिए । विद्यार्थीहरूले सिर्जनात्मक र प्राविधिक सामग्रीहरूको प्रदर्शन गरेका छन् । प्रदर्शनीमा विज्ञान, कृषि, प्रविधि र वातावरण संरक्षणसँग सम्बन्धित परियोजना तथा मोडेलहरू प्रस्तुत गरेको विद्यालयका प्रधानाध्यापक टोपबहादुर घर्तीले बताए ।
विद्यार्थीहरूले वातावरणीय संरक्षणका उपायहरू, स्वच्छ ऊर्जा प्रविधि तथा दैनिक जीवनमा उपयोगी विज्ञानका सिद्धान्तहरूलाई प्रदर्शन गरेका थिए । विद्यार्थीहरूले पुनः प्रयोग गर्न सकिने वस्तुहरूको सिर्जनशील प्रयोग, सौर्य ऊर्जा उपकरण र स्मार्ट कृषि प्रविधि जस्ता नवप्रवर्तनलाई विशेष रूपमा प्रस्तुत गरेका छन् । मेलामा तुलसीपुरमा ६० बढी विद्यालयले सहभागिता जनाएका थिए ।