२०८१ माघ २८ गते सोमवार | 2025 February 10th Monday

गोरखा माविका विद्यार्थीहरू थारू बस्तीमा

दाङ, ५ माघ । जिल्लामा बहुसङ्ख्यक जनसङ्ख्या रहेको थारू समुदायको महान पर्व माघी जारी रहेकै वेला तुलसीपुरस्थित गोरखा माध्यमिक विद्यालयका विद्यार्थीहरू थारू संस्कृति सिक्न थारू बस्तीमै पुगेका छन् । सो विद्यालयको व्यवस्थापन सङ्काय अन्तर्गत कक्षा १२ मा अध्ययन गर्ने कम्तिमा २ सय भन्दा विद्यार्थीहरू थारू समुदायको महान पर्व माघीकै अवसर पारेर तुलसीपुर उपमहानगरपालिका —७ पर्सेनी बुढागाउँ बस्ती पुगेका हुन् । थारू बस्तीमा थारू अगुवाहरू कै सहभागितामा ती विद्यार्थीहरूले थारू समुदायको धार्मिक संस्कार, थारू समुदायमा प्रयोग गरिने अर्गानिक परिकार निर्माण, भान्सामा प्रयोग गरिने दुना टपरी खुट्ने देखि थारू समुदायका संस्कृति झल्कने विभिन्न सांस्कृतिक प्रस्तुतिहरू समेत अवलोकन गरेका छन् ।

सामाजिक अध्ययन एवं जीवनोपयोगी शिक्षा कार्यक्रम अन्तर्गत आन्तरिक मुल्याहा क्रियाकलापको काम गर्न ती विद्यार्थीहरूलाई यहाँ ल्याइएको सो विद्यालयका व्यवस्थापन सङ्काय प्रमुख डम्बर डाँगीले बताएका छन् । जुन प्रयोगात्मक कक्षा २५ पूर्णाङ्कको हुने पनि सङ्काय प्रमुख डाँगीले बताएका छन् । सो विषयको सांस्कृतिक पहिचान शीर्षक अन्तर्गत  थारू समुदायको माघी पुनरावलोकन गर्न सो कक्षाका महिला र पुरुष विद्यार्थीहरू गरी २ सय ६ जना विद्यार्थीहरूको सहभागिता रहेको छ । बुढागाउँ बस्तीमा उनीहरूलाई स्थानीय थारू समुदायका महिलाहरूले ढिक्री बनाउन पिठो मुछ्ने  देखि ढिक्री बनाउने, गन्जी तरुलका परिकार तयार गर्ने, घोँगीका परिकार बनाउने, अचार बनाउने, सिद्राको अचार बनाउने तथा यी सबै खानका लागी प्रयोग गरिने पातका दुना टपरी खुट्ने सम्मका अभ्यासमा सघाएका देखिन्थे ।

यसैबीच आन्तरिक मुल्याहा क्रियाकलापकै अवसर पारेर त्यहाँ उपस्थित विद्यार्थीहरू तथा गोरखा मावि परिवारले एक औपचारिक शुभकामना आदान प्रदान कार्यक्रमको पनि आयोजना गरेको थियो । गोरखा मावि तुलसीपुरका एकेडेमिक कोअर्डिनेटर दुर्गा केसीको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका —७ का वडाध्यक्ष राम बहादुर जिसीले विविध जातीय संस्कृतिको आदान प्रदान एवं संस्कृति र परम्पराको व्यवहारिक अभ्यास गराउन गोरखा माविले आफ्ना विद्यार्थीहरूलाई थारू बस्ती सम्म , ल्याएकोमा हार्दिक आभार व्यक्त गरे । साथै यो कार्यक्रमले विद्यार्थीहरूलाई थारू समुदायको सम्पूर्ण संस्कृति बुझ्न पनि भरपुर सहयोग गर्ने पनि अपेक्षा गरेका छन् ।

साथै थारू समुदायमा विद्यमान रहेको अर्गानिक आहार विहारले हरेक मानिसलाई स्वस्थ र निरोगी बनाउने भएकाले यसलाई अन्य समुदायले पनि अनुशरण गर्न पनि सुझाव दिए ।गोरखा माविका विज्ञान सङ्काय संयोजक विष्णु भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा मावि कालाखोलाका प्रधानाध्यापक राजिव ओझा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत चौधरी, विद्यार्थीहरूबाट कक्षा १२ मा अध्ययनरत छात्रा पुष्पा केसी, शोभित बस्नेत र सन्तोष खड्काले थारू समुदायको संस्कृतिका विषयमा जिज्ञासा एवं जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण गोरखा माविका व्यवस्थापन सङ्काय प्रमुख डाँगीले गरेका थिए ।

प्रकाशित मिति : २०८१ माघ ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस