२०८३ असोज १० गते शनिवार | 2026 September 26th Saturday

गोरखा मोडेल कलेजको बिबिएस चौथो वर्षमा ९८.२८ प्रतिशत विद्यार्थी उत्तीर्ण

दाङ, १० असोज । त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित बिबिएस चौथो वर्षको वार्षिक परीक्षामा गोरखा मोडेल कलेज, तुलसीपुर ६, दाङले उत्कृष्ट नतिजा हासिल गरेको छ । कलेजका अनुसार बिबिएस चौथो वर्षको आठौँ ब्याचका कुल परीक्षार्थी मध्ये ९८.२८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । उत्तीर्णमध्ये ४९ जना विद्यार्थी प्रथम श्रेणीमा सफल भएका छन् भने अन्य विद्यार्थीले द्वितीय श्रेणी हासिल गरेका छन् । 

कलेज प्रशासनले विद्यार्थीहरूको नियमित अध्ययन, निरन्तर मेहनत र सक्रिय सहभागिताका साथै शिक्षकहरूको प्रभावकारी शैक्षिक मार्गदर्शनलाई यस सफलताको प्रमुख आधारका रूपमा लिएको छ ।

विद्यार्थीको सिकाइ उपलब्धि सुधारका लागि कलेजले नियमित कक्षा सञ्चालनसँगै निरन्तर मूल्याङ्कन, परीक्षा तयारी, अतिरिक्त शैक्षिक सहयोग तथा आवश्यक परामर्शलाई प्राथमिकता दिँदै आएको जनाएको छ । कलेजका क्याम्पस प्रमुख पूर्ण विक्रम डाँगीले विद्यार्थी, शिक्षक, अभिभावक र कलेज प्रशासनको सामूहिक प्रयासबाट प्राप्त यो उपलब्धि कलेजका लागि गौरवको विषय भएको बताउनु भएको छ ।

कलेजले उत्कृष्ट नतिजा हासिल गर्ने सम्पूर्ण विद्यार्थीलाई बधाई दिँदै उनीहरूको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ। साथै, नतिजा सुधारका लागि योगदान पुर्‍याउने शिक्षक, कर्मचारी, अभिभावक तथा शुभेच्छुकप्रति कलेजले आभार व्यक्त गरेको छ । कलेजले आगामी दिनमा पनि गुणस्तरीय शिक्षा, व्यावहारिक ज्ञान, अनुशासन तथा विद्यार्थीको सर्वाङ्गीण विकासलाई केन्द्रमा राख्दै शैक्षिक उपलब्धिलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : २०८३ असोज १० गते शनिवार
प्रतिक्रिया दिनुहोस