
दाङ, २० माघ । दाङको तुलसीपुरमा दोस्रो तुलसीपुर महोत्सव सञ्चालन हुने भएको छ । तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा फागुन १ गतेदेखि १६ गतेसम्म महोत्सव सञ्चालन गरिने छ ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारीले महोत्सव कृषि, पर्यटन, संस्कृति तथा व्यापार प्रवर्द्धनका लागि आयोजना गरिएको जानकारी दिए । महोत्सवबाट ३ करोड रुपैयाँ कारोबार गर्ने लक्ष्य राखिएको छ, जसबाट भएको बचतले चेम्बर अफ कमर्सको भवन निर्माण गरिने उनले बताए ।
स्थानीय व्यापार, कृषि तथा कलालाई प्राथमिकता दिइने महोत्सवमा तीन सयभन्दा बढी स्टल रहनेछन् । तुलसीपुर उपमहानगरपालिकाले महोत्सवबाट २५ लाख रुपैयाँ राजस्व तथा ५० हजार रुपैयाँ सरसफाइ शुल्क लिनेछ ।
कार्यक्रमका उपाध्यक्ष सन्तोष खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण महासचिव दुर्गा शर्माले गरेका थिए ।